प्रधानन्यायाधीशको राजीनामा वा महाभियोगबाट न्यायिक सुधारको सुरुवात नहुने

एमाले अध्यक्ष एवं प्रमुख प्रतिपक्ष दलका नेता, केपी शर्मा ओली

२१ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाबाट न्यायालय सुधार नहुने बताएका छन् ।

नेपाल बार एशोसिएसनको टोलीसँग आज बालकोटमा भएको भेटमा प्रधानन्यायाधीशको राजीनामा वा महाभियोगबाट न्यायिक सुधारको सुरुवात नहुने बताएका हुन् ।

‘तपाईंहरुको कुरा थुप्रै जायज छ’ कानुन व्यवसायीहरुलाई उनले भने, ‘तर (प्रधानन्यायाधीशको राजीनामा) प्रस्थान विन्दु होइन, अन्त्य हो । त्यसबाट न्यायिक सुधार अगाडि जान्छ भन्ने होइन, पूर्णविराम लगाउने कुरा हो ।’

पूर्वप्रधानमन्त्री ओलीले क्यान्सरको उपचार कुखुरा मन्साएर नहुने टिप्पणी गरे ।

उनले न्यायालय अहिले स्वच्छ र निष्पक्ष दुवै नभएको जिकिर गरे । ‘न्यायालय न स्वच्छ रह्यो न निष्पक्ष रह्यो’ ओलीले कानुन व्यवसायीलाई भने, ‘यहाँहरुले स्वच्छताको त कुरा उठाउनुभयो निष्पक्षताको प्रश्न उठेन कि जस्तो लाग्यो । आफू अधिवक्ता भएकाले पो हो कि ?’

ओलीले प्रधानन्यायाधीशले राजीनामा गर्दैमा वा महाभियोग लगाएर हटाउँदैमा न्यायालय सच्याउने सुरुवात नहुने पनि बताए ।