१९ मंसिर, पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलका शुक्रराज शर्मा निर्वाचित भएका छन् । संस्थापन समूहका उपसभापतिबाहेक पौडेल समूहको प्यानल नै विजयी भएको छ ।
संस्थापनका पर्वतका अर्जुन जोशीलाई पराजित गर्दै कास्कीका पाका नेता शर्माले गण्डकी प्रदेशको पहिलो कांग्रेस सभापतिमा नाम लेखाउन सफल भएका छन् । संस्थापनका जोशीले ५ सय २८ मत ल्याउँदा शर्माले ६ सय १२ मत ल्याउँदै विजयी भएका हुन् ।
१ हजार १६५ प्रतिनिधिमध्ये १ हजार १४६ मत खसेको थियो । शर्मा र जोशीबीच सुरुदेखि नै निकै झिनो मतान्तर देखिएको थियो । मतगणना अन्तिमतिर शर्माको मतान्तर बढ्दै गएको थियो ।
गण्डकीमा संस्थापन र संस्थापनइतरबीच पदाधिकारीमा प्यानलै बनाएर उम्मेदवारी परेको थियो । पौडेल समूहबाट उपसभापतिबाहेक प्यानलै निर्वाचित भएको छ ।