पाँच न्यायाधीशले असन्तुष्ट न्यायाधीशहरुको छलफलमा सहभागी नहुने निर्णय

२९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तोकेको बन्दी प्रत्यक्षीकरण बाहेकका इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुबीच फाटो आएको छ ।

पाँच न्यायाधीशले असन्तुष्ट न्यायाधीशहरुको छलफलमा सहभागी नहुने निर्णय गरेका छन् । पेशी तोक्न तत्काल गोलाप्रथा प्रणाली लागू गरौं र मुद्दाको सुनुवाइ थालौं भन्दा अरु न्यायाधीशहरु अनिच्छुक देखिएकाले आफूहरु अलग हुने निर्णय गरेको ती न्यायाधीशले बताए ।

असन्तुष्ट न्यायाधीशहरुलाई साथ दिन नसकिने निष्कर्षमा पुगेका न्यायाधीशहरुमा तेजबहादुर केसी, कुमार रेग्मी, कुमार चुडाल, मनोजकुमार शर्मा र बमकुमार श्रेष्ठ छन् ।

पाँचमध्येका अर्का न्यायाधीशका अनुसार, त्यो विषय अरु असन्तुष्ट न्यायाधीशहरुलाई जानकारी गराउने भनिएपनि न्यायाधीश सपना प्रधान मल्लको जन्मदिन परेकाले केक काट्ने कार्यक्रम भएकाले थप कुरा हुन पाएन । उनले भने, ‘अरु मुद्दाको सुनुवाइ के गर्ने भन्नेवारेमा हामी भोली विहान फेरि छलफल गछौं ।’

ती न्यायाधीशका अनुसार, बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइ गर्न कुनै समस्या छैन । साथै दुवै पक्षका कानून व्यवसायीहरु सहभागी भएमा अरु मुद्दावारे विचार गर्न सकिने उनले बताए । तर कानून व्यवसायीहरुले आन्दोलन जारी राखे र बहस पैरवीमा आएनन् भने बन्दीप्रत्यक्षीकरणको निवेदन मात्रै सुनुवाइमा सामेल हुनेछन् । ती न्यायाधीशले भने, ‘अलमलमा लामो समय भयो, अब यसरी थप समय व्यतित गर्न सकिँदैन भन्ने हाम्रो निष्कर्ष हो ।’