Breaking News

मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो भागदौड हुँदा ९ जना सामान्य घाइते

२८ कात्तिक, काठमाडौं । मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो गएको छ । आज दिउँसो मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेको मुस्ताङका प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले जानकारी दिए ।

हिमपहिरोका कारण कुनै क्षति भएको वा नभएको पुष्टि भएको छैन । सो क्षेत्र जिल्ला सदरमुकामदेखि २५ किलोमिटर भन्दा टाढा पर्ने र प्रहरी टोली त्यसतर्फ पठाइएको डीएसपी दानीले जानकारी दिए । ‘प्रहरी त्यहाँ पुग्दैछ, विवरण आएको छैन ।

हिमपहिरोको डरले भागदौड हुँदा ९ जना घाइते भएका छन् । हिमपहिरो खसेपछि भागदौड हुँदा मानापाथी हिमालको फेदी थासाङ गाउँपालिका–२ को जनआदर्श माविका शिक्षक र विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ ।

हिमपहिरो खसेपछि त्यसको असरबाट जोगिन भागदौड हुँदा ९ जना सामान्य घाइते भएका र उनीहरुलाई जिल्ला अस्पतालतर्फ ल्याइएको डीएसपी दानीले जानकारी दिए ।

नजिकै हिमपहिरो खसेपछि भागदौड भए पनि विद्यालयमा असर भने परेको छैन ।