काजाकिस्तानमाथि गोल वर्षा गर्दै फ्रान्सले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा स्थान पक्का

एजेन्सी

साबिक विजेता फ्रान्सले काजाकिस्तानमाथि गोल वर्षा गर्दै सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा स्थान पक्का गर्न सफल भएको छ । खेलमा फ्रान्सका लागि पहिलो ह्याट्रिक गरेका किलियान एम्बाप्पे नायक रहे । फ्रान्सले खेलमा गरेका ८ मध्ये ४ गोल उनैले गरे ।

खेलको छैटौँ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका एम्बाप्पेले १२ औँ र ३२ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । त्यसपछि खेलको अन्त्यतिर उनले चौथो गोल गरे । कुनै पनि प्रतिस्पर्धात्मक खेलमा फ्रान्सका कुनै पनि खेलाडीले ह्याट्रिक गरेको सन् १९८५ पछि यो पहिलो थियो । त्यतिबेला डोमिनिक रोचेटेउले ह्याट्रिक गरेका थिए ।



खेलमा करिम बेन्जेमाले दुई तथा एडरियन राबियोट र एन्टोनी ग्रिजमानले एक–एक गोल गरे । जीतसँगै फ्रान्स समूह डीको शीर्ष स्थानमा रहने पक्का भएको छ । एक खेल बाँकी छँदा फिनल्याण्ड ११ अंकसहित दोस्रो स्थानमा रहेको छ ।