Breaking News

नेकपा माओवादी केन्द्रले यथास्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झैता संसदबाट पास नगर्ने निर्णय

२३ कात्तिक, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले यथास्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झैता संसदबाट पास नगर्ने निर्णय गरेको छ ।

आज बसेको स्थायी समिति बैठकमा नेताहरुले अर्थ मन्त्रालय तथा प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई लेखेको पत्रमाथि प्रश्न उठाएका थिए । एमसीसीबारे उठेका प्रश्नहरुलाई समेटेर अर्थ मन्त्रालयले भदौमा मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई पत्र पठाएको थियो । त्यसको जवाफ आएपछि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्को पत्र पठाएका थिए ।

हालै मात्र प्रधानमन्त्री देउवाले एमसीसी पास गर्छौ भनेर आफू र प्रचण्डले पत्र पठाएको बताएपछि यो विषय सार्वजनिक भएको थियो । यसलाई लिएर माओवादी केन्द्रका नेताहरुले मंगलबारको बैठकमा प्रश्न उठाएका हुन् । नारायणकाजी श्रेष्ठ प्रकाश, देव गुरुङ, लीलामणि पोखरेल लगायतले पत्र पठाउनु गम्भीर त्रुटि भएको बताएका थिए ।

लगत्तै अध्यक्ष प्रचण्डले स्पष्टीकरण दिएका छन् । बाहिर चर्चा भए जस्तो एमसीसी पास गर्छौं भनेर पत्र नलेखेको उनको दाबी छ । ‘अध्यक्षले यथास्थितिमा पास गर्ने केही लेखिएको छैन भन्नुभएको छ,’ एक स्थायी समिति सदस्यले भने, ‘राष्ट्रिय सहमति चाहिन्छ, त्यसका लागि समय चाहिन्छ भनेका छौं भन्नुभयो ।

एक नेता अनुसार बैठकमा पार्टी अध्यक्ष प्रचण्डले नै राष्ट्रिय संवेदशनीलतासँग जोडिएकाले एमसीसी सम्झौता यथास्थितिमा संसदबाट पास नगर्ने निर्णय गर्ने प्रस्ताव राखेका थिए, जसलाई स्थायी समितिले अनुमोदन गरेको छ ।

बैठकपछि माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पनि राष्ट्रिय सहमति र सम्झौतामा संशोधन तथा परिमार्जन नभई एमसीसी अगाडि नबढ्ने बताएका छन् ।