प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमी शुभकामना व्यक्त गर्दै दशैं पर्वले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस् भन्ने कामना

२९ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमीको उपलक्षमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै दशैं पर्वले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस् भन्ने कामना गरेका छन् । उनले राष्ट्रिय एकताको भावना अझ विकास गर्न सकोस् भन्ने कामना पनि गरेका छन् ।

बडादशैं लगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्याउँदै आएको स्मरण गर्दै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘यसले हाम्रा मूल्य, मान्यता र संस्कारहरुलाई थप बलियो बनाउन सक्छ भन्ने मेरो गहिरो विश्वास छ ।’

विजयादशमीका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक पहिचान भएकाले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्नु साझा दायित्व भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले कोभिड–१९ नियन्त्रणका उपायहरुलाई प्रभावकारी बनाउँदै लगिएको भए पनि यसको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर दशैं पर्व मनाउन आम नेपालीलाई आग्रह गरेका छन् । ‘यस समयमा बडादशैं पर्व मनाइरहँदा स्वास्थ्यका मापदण्डहरुलाई पूर्णरूपमा पालना गर्दै आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने अवसरकार रूपमा मनाउन म सम्पूर्ण नेपालीमा विशेष अनुरोध गर्न चाहन्छुु,’ सन्देशमा भनिएको छ ।