दिल्ली क्यापिटल्सलाई हराउँदै कोलकाता नाइटराइडर्स फाइनलमा

२८ असोज, काठमाडौं । आईपीएल २०२१ को दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराउँदै कोलकाता नाइटराइडर्स फाइनलमा पुगेको छ ।

कोलकाताले रोमाञ्चक म्याचमा दिल्लीलाई ३ विकेटले हराउँदै फाइनलमा पुगेको हो । रविचन्द्रन आश्विनको ओभरमा राहुल त्रिपाठीले म्याचको अन्तिम बलमा छक्का प्रहार गर्दै नतिजा कोलकाताको पक्षमा पारे ।

आईपीएलको फाइनलमा इयोन मोर्गन नेतृत्वको कोलकाता र महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नाइ सुपरकिंग्सबीच प्रतिस्पर्धा हुने छ । फाइनल खेल १५ अक्टुबरको दिन दुबई अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा हुने छ ।

कोलकाताका कप्तान मोर्गनले टस जितेर दिल्लीलाई पहिले ब्याटिङको निम्तो दिएका थिए । पहिले ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३५ रन बनाएको थियो । दिल्लीले ४५ डट बल खेलेको थियो ।

बेनकाटेश अयेरको अर्धशतक मद्दतमा कोफकताले १३६ रनको लक्ष्य १९।५ ओभर खेल्दा ७ विकेट गुमाएर पूरा गरेको हो । बेनकाटेशले ४१ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ५५ रन बनाए । शुबमन गिलले ४६ बलमा १ चौका र १ छक्कामा ४६ रन बनाए । राहुल त्रिपाठीले अविजित १२ रन जोडे ।

दिल्लीका एनरिक नोर्किया, आर आश्विन र कागिसो रबाडाले समान २ विकेट लिए ।

त्यसअघि शारजाहाँमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ५ विकेट गुमाएर १३५ रन बनाएको थियो । शिखर धवनले ३६ रन बनाए । श्रेयास अयेरले अविजित ३० रन जोडे ।

कोलकताका वरुण चक्रवर्तीले २ विकेट लिए ।