Breaking News

गोरखाको गोरखा दरबारबाट काठमाडौंको हनुमानढोका फूलपाती भित्र्याईयो

२६ असोज, गोरखा । बडा दशैको छैठौं दिन आज कालरात्री (आर्थत् काली देवीको पुजाआजा गरी मनाईदैछ । यसै क्रममा गोरखाको गोरखा दरबारबाट काठमाडौंको हनुमानढोका फूलपाती पठाइएको छ ।

आज बिहान ८ बजेर २५ मिनेटको साइतमा निकालिएको फूलपाती बा २ झ २१२९ नम्वरको सरकारी गाडीमा राखेर काठमाडौं पठाइएको छ । गोरखाबाट आएको फूलपाती आज अपराह्न साढे चार बजे बाजागाजासहित काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा भित्राउने कार्यक्रम छ ।

गोरखा नगरपालिका–५ पस्लाङ क्षेत्रबाट फूलपाती संकलन गरिएको थियो । ‘सुसारेहरु बिहानै ५ बजे जंगलमा गएर नवपत्रिकाहरु संकलन गरेर ल्याउनुभयो,’ भट्टराइले भने, ‘त्यही नवपत्रिकाहरु फूलपातीको रुपमा आज हनुमान ढोका पठाएका हौं ।’ नवपत्रिकामा अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका, हलेदो लगायत रहेको छ ।

पहिले धादिङको जीवनपुर, नुवाकोट हुँदै हिंडेर फूलपाती हनुमानढोका पुर्याउने प्रचलन थियो । २०६६ सालदेखि यो क्रमलाई तोडेर मोटरबाटोको प्रयोग गर्न थालिएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ । राज्य एकीकरणको क्रममा पृथ्वी नारायण शाहले काठमाडौं माथि बिजय प्राप्त गरेर राजधानी बनाएसँगै गोरखाको फूलपाती हनुमानढोका लाने प्रचलन शुरु भएको विश्वास छ ।