नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ ।
दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । गत वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले सबैजसो देवी मन्दिर बन्द गरिएको थियो । यस वर्ष भने जोखिम कम हुँदै गएकाले भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित मन्दिर भने खुला गरिएको छ । यस वर्ष नवरात्रको पहिलो दिनदेखि नै शक्तिपीठमा भक्तजनको भीड लागेको छ ।
प्रशासनले कोरोना जोखिम कम देखिए पनि महामारी नहटेकाले कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जाने, खानपिन गरी दसैँ, तिहारजस्ता चाडपर्व मनाउन आह्वान गरेको छ । तीनै तहका सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेरमात्र चाडपर्व मनाउन आह्वान गरेका छन् ।
शक्तिपीठमा भक्तजनले मास्क लगाएपनि दूरी कायम हुन नसकेको मैतीदेवी मन्दिरमा पूजा आराधना गर्न पुग्नुभएकी दर्शनार्थी सविता सिग्देलले सुनाए ।