तीन दिन मन्त्रीको कार्यभार सम्हालेर बिदा भए गजेन्द्रबहादुर हमाल

२४ असोज, काठमाडौं । गएको शुक्रबार मात्र मन्त्रीमा नियुक्त भएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालको चर्को आलोचना पछि उनले आज पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको राजीनामा स्वीकृत समेत भइसकेको छ ।

उनले पदभार ग्रहण गरेको हिसाबले तीन दिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भएका हमाल घण्टाको हिसाबले भने मन्त्री पदमा ४० घण्टा हारहारी मात्रै रहे ।

उद्योग मन्त्रालयको इतिहासमा जम्मा एउटा मात्र निर्णयपछि पद गएका एकमात्र मन्त्री हमाल भएको सो मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

पदभार ग्रहण गर्दा उनले कोभिडका कारण नवीकरण गर्न छुटेका उद्योगहरुलाई म्याद थप गर्ने निर्णयमा हस्ताक्षर गरेको मन्त्रालयका वाणिज्यतर्फका सचिव दिनेश भट्टराईले जानकारी दिए । पदभार ग्रहणपछि आइतबारका लागि मन्त्रालयमा मन्त्रीको महाशाखागत ब्रिफिङ हुने जानकारी मन्त्रीलाई गराइएको
थियो ।

शनिबार हमाल लगानी बोर्ड सदस्यको हैसियतमा बोर्डको ४८ औं बैठकमा सहभागी भएका थिए । मन्त्रालयले मातहतका सबै महाशाखाहरुलाई आइतबार ब्रिफिङका लागि सूचना पनि जारी गरेको थियो तर मन्त्री हमाल ब्रिफिङका लागि कार्यालय नआउँदै पदबाट बाहिरिए ।