भरतमोहन अधिकारी छोरी लीमा अधिकारी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट सक्रिय राजनीतिमा

९ असोज, काठमाडौं । एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी छोरी लीमा अधिकारी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट सक्रिय राजनीतिमा आउने भएकी छन् ।

एकीकृत समाजवादीले उनलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघकै अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

लीमा यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक सेवामा सक्रिय थिइन् । उनी नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरको महासचिव समेत हुन् ।

लीमाले ठूलोबुबा मनमोहन अधिकारी र बुबाले राजनीतिमार्फत गर्न खोजेको सामाजिक परिवर्तनको अभियानलाई सार्थक तुल्याउन आफू सक्रिय राजनीतिमा आएको बताइन् ।

‘मनमोहन प्रधानमन्त्री र भरतमोहन अर्थमन्त्री रहनुभएको एमालेको नौ महिने सरकारले ल्याएका सामाजिक सुरक्षा, आफ्नो गाउँ आफैं बनाऔं, महिलाका नाममा घरजग्गाको स्वामित्व जस्ता एजेण्डाले नेपाली समाजलाई आजको स्थानमा ल्याउन धेरै ठूलो भूमिका निर्वाह गरेको छ’, अधिकारीले भनिन्, ‘तर मुलुकको आर्थिक विकास र समृद्धिका लागि गर्नुपर्ने काम धेरै बाँकी छन्, त्यसैले हामीजस्ता राजनीतिमा हामीजस्ता युवाहरुको आवश्यकता छ भन्ने बुझेर सक्रिय राजनीति गर्ने सोच बनाएकी हुँ ।’