८ असोज, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी निकट युवा संघ नेपालले आफ्नो कुनै पनि कार्यक्रममा खादा माला प्रयोग नगर्ने बताएको छ ।
‘युुवा संघको केन्द्र, प्रदेशदेखि सबै संगठनले गर्ने कार्यक्रममा खादा माला प्रयोग नगर्ने र अनुत्पादक र अनावश्यक भएकाले खादा माला प्रयोगको प्रचलन तोड्ने युवा संघले बताएको छ ।
कार्यक्रमको शैली पनि परिवर्तन गर्ने युवा संघले निर्णय गरेको छ । अब युवा संघको कार्यक्रममा अध्यक्ष मात्रै अगाडि बस्नेछन् । अतिथिहरु सहभागीहरुसँग बस्नेछन् ।
बिहीबार शुरु भएको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाल सहभागीहरुसँगै बसेका थिए । ‘बैठक चलाउँदा अध्यक्ष अगाडि बसेर सहभागीहरुलाई हेर्नुहुन्छ, सहभागीहरुले विषयवस्तुप्रति ध्यान दिए वा नदिएको अवलोकन गर्नुहुन्छ,’ राईले भने, ‘यसले बैठकमा भाग लिने, तर मोबाइल चलाएर बस्ने प्रवृत्तिको पनि अन्त्य हुन्छ ।’