बार्सिलोना काडिजसँग गोलरहित बराबरीमा रोकियो

काडिजसँग गोलरहित बराबरीमा रोकिएपछि बार्सिलोनाका म्यानेजर रोनाल्ड कुमन थप दबाबमा परेका छन् । फ्रांकी डि योङले खेलको ६५ औँ मिनेटमा रातो कार्ड पाएपछि बार्सिलोनाले अन्तिम २५ मिनेट १० खेलाडीमा सिमित बनेको थियो । खेलको अन्त्यतिर कुमनले पनि रातो कार्ड पाएका थिए । बार्सिलोनाले ला लिगाका ५ खेलबाट मात्र दुई खेल जित्न सकेको छ । पछिल्लो समय क्लबमा कुमनको भविष्यबारे विभिन्न अड्कलबाजी काट्न थालिएको छ ।

बार्सिलोनाका लागि मेम्फिस डिपाय गोलको सबैभन्दा नजिक पुगेका थिए । उता गोलकिपर मार्क अन्द्रे टेर स्टेगनले खेलको अन्त्यतिर काडिजका थुप्रै प्रहारलाई बचाउ गरेका थिए । अल्भारो नेग्रेडो, साल्भी सान्चेज र एन्थोनी लोजानोको प्रहारलाई बार्साका गोलकिपरले सुन्दर बचाउ गरेका थिए ।

५ खेलमा २ जीत र ३ बराबरीसँग बार्सिलोना ९ अंकसहित लिगको सातौँ स्थानमा सिमित रहेको छ । लिगको शीर्ष स्थानमा रहेको रियल म्याडिडभन्दा बार्सिलोना ७ अंकले पछि रहेको छ । रियलले एक खेल बढी खेलेको छ ।