वडादेखि केन्द्रसम्मै सही नेतृत्व छनोट गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्तालाई आग्रह

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्ताले नेताको मूल्यांकन गर्ने बेला आएको बताएका छन्।

१४ औं महाधिवेशनमा कार्यकर्ताले सही नेतृत्व छान्न सक्ने हो भने अहिलेको जस्तो अलमलको अवस्थामा नरहने उनको दाबी थियो।

पर्वत कांग्रेसले निर्माण गरेको नवनिर्मित पार्टी कार्यालय भवनको भर्चुअल माध्यमबाट आयोजित उद्घाटन कार्यक्रममा आज बिहान बोलेका पौडेलले वडादेखि केन्द्रसम्मै सही नेतृत्व छनोट गर्न कार्यकर्तालाई आग्रह गरेका थिए।

‘महाधिवेशन सामुन्ने आइसकेको छ, पार्टीलाई कस्तो नेतृत्व दिने भन्ने यो महाधिवेशनले तय गर्नुपर्छ। पार्टीका नेतारकार्यकर्तालाई नेतृत्वले मूल्यांकन गर्न सकेन भन्ने गुनासो छ तर अब कार्यकर्ताले नेतृत्वको मूल्यांकन गर्न जरूरी भइसकेको छ,’ पौडेलले भने।

‘नेताले कार्यकर्ता मूल्यांकन गर्ने मात्र होइन अब कार्यकर्ताले नेताको मूल्यांकन गर्ने बेला आएको छ। महाधिवेशनकै बेला सही नेतृत्व दिन सके अहिलेको जस्तो अलमलको अवस्थामा पार्टी रहँदैन,’ उनले भने।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने पनि जनअपेक्षाअनुसार काम हुन नसकेको पनि बताएका थिए।

उनले कम्युनिष्ट पार्टी फुटेर कांग्रेस बलियो हुने नभई आन्तरिक लोकतन्त्रलाई नै सुदृढ गरेर पार्टीलाई बलियो बनाउनुपर्ने बताए।