इन्टरनेट सेवाको शुल्क शहरी क्षेत्रमा १५० रुपैयाँ र ग्रामीण क्षत्रेमा ३०० रुपैयाँसम्म बढाउने निर्णय

३१ भदौ, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले इन्टरनेट सेवाको शुल्क ३ सय रुपैयाँसम्म बढाउने निर्णय लिएका छन् । नेपाल टेकिलम र नेपाल विद्युत प्राधिकरणले पोलसहित आफ्ना पूर्वाधारको भाडा बढाएपछि करिब एक दर्जन कम्पनीले शुल्क बढाउने निर्णय गरेका हुन् ।

इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आईस्पान) का अध्यक्ष सुधीर पराजुलीका अनुसार यो निर्णयबाट करिब ९२देखि ९३ प्रतिशत तारसहितको इन्टरनेट सेवा लिइरहेका ग्राहकले बढी मूल्य तिर्नुपर्ने भएको छ ।

‘शहरी क्षेत्रमा प्रतिप्याकेज १५० रुपैयाँ र ग्रामीण क्षत्रेमा ३०० रुपैयाँ बढाउन कम्पनीहरुले नेपाल दूरसञ्चार प्राधिकरणका प्रस्ताव पेश गरेका छन्,’ पराजुली भन्छन्,’सरकारी निकायले पोलको भाडा बढाएपछि त्यसको मार उपभोक्तामाथि पर्ने भयो ।’

पछिल्लो दिनमा नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमसँग इन्टरनेट सेवा प्रदाकयको पोल भाडाबारेको विवाद चर्किंदै गएको छ । आफ्ना पोलबाट इन्टरनेट सेवा दिइरहेका कम्पनीहरुसँग प्राधिकरण र टेलिकमले भाडा असुल्न ताकेता गरिरहेका छन् ।

आफ्ना पोलमा तार र स्विचबक्स झुण्डाउने धेरैजसो इन्टरनेट कम्पनीले भाडा तिर्न ढिलाइ गरेपछि प्राधिकरणले असोज १५ गतेसम्म भाडा नतिरे तार काट्न शुरु गर्ने चेतावनी दिँदै आएको छ ।