२९ भदौ, रुपन्देही । रुपन्देहीको गैडहवाका एक दम्पती आफ्नै आठ महिने शिशुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
गैडहवा(६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।
मल्लाह दम्पतीले यही भदौ २६ गते शिशुको हत्या गरेको स्वीकारेको र दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।
हत्याको कारण एकिन नभए पनि जग्गा सम्बन्धी विवादको कारणले परिवारमा दैनिक झगडा हुने गरेको र घटना सोही कारणले भएको भन्ने बुझिएको थापाले बताए ।
२६ गते बिहानपख करिब १ बजे शिशुको हत्या भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट प्रहरी निरीक्षक रबिन्द्र महतसहितको टोली गैडहवामा गएको थियो ।
घटनास्थलको सुक्ष्म अबलोकन गर्ने क्रममा निजको घरको छतमा आलो रगत जमेको अवस्थामा भेटिएको र मल्लाह दम्पती सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसिया भेटिएको प्रहरीले जनाएको छ । बिस्तारामा, विद्युतको स्वीचमा र रेनुले लगाएको सारीमा पनि रगत जस्तो रातो पदार्थ लागेको फेला परेको थियो ।