आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरूद्ध रोहितकुमार पौडेलले नेपालका लागि बढी अर्धशतक बनाउने कीर्तिमान

आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरूद्ध अर्धशतक प्रहार गरेका मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेलले एकदिवसीय खेलमा नेपालका लागि बढी अर्धशतक बनाउने कीर्तिमान बनाएका छन्।

हिजो राति अमेरिकाविरूद्ध रोहितले नटआउट ६२ रन जोडेका थिए। उनले ८७ बलमा २ चौका र ३ छक्का हिर्काएका थिए। खेलमा नेपालले ५ विकेटको जित हात पारेको थियो।

अमेरिकाविरुद्ध रोहितले करिअरको तेस्रो अर्धशतक प्रहार गरेका हुन्। नेपालका लागि एकदिवसीय खेलमा बढी अर्धशतक प्रहार गर्ने खेलाडीको सूचीको दोस्रो स्थानमा कप्तान ज्ञानेन्द्र मल्ल छन्। उनले दुई अर्धशतक हिर्काएका छन्।

नेपालले एकदिवसीय खेलमा अहिलेसम्म १२ अर्धशतक र एक शतक प्रहार गरेको छ।

रोहितले नेपालका लागि एकदिवसीय खेलमा लगातार दुई अर्धशतक बनाउने कीर्तिमान पनि बनाए। यसअघि रोहितले पपुवा न्युगिनीविरुद्धको खेलमा ८६ रन जोडेका थिए।