दार्चुला तुइन घटना प्रतिवेदन सार्वजनिक : भारतीय एसएसबीका दुई जनाले तुइन फुस्काउदा जयसिंह धामी महाकाली नदीमा खस्न पुगे

भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले तुइनको लठ्ठा फुस्काउँदा दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर–२, खाङदाङस्थित माल बस्ने जयसिंह धामी महाकालीमा खसे । साउन १५ मा बेपत्ता भएका धामीको अवस्था अझै अज्ञात छ । सो घटना छानबिनका लागि साउन १७ गते गृहमन्त्री बालकृष्ण खाणले सहसचिव जनार्दन गौतमको नेतृत्वमा समिति गठन गरेका थिए । गौतम नेतृत्वको समितिले करिब १ महिनापछि अर्थात् भदौ १५ मा प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनले घटनामा प्रत्यक्ष रुपमा सशस्त्र सीमा बल (एसएसबी) को संलग्नता रहेको निष्कर्ष निकालेको छ ।

छानबिन समितिको ठहर

जयसिंह बेपत्ता भएको स्थान ब्यास गाउँपालिका–२, मालघाट हो, जहाँबाट साउन १५ मा जयसिंह भन्दा पहिले चारजना तुइनमा झुण्डिएर पार भइसकेका थिए । जयसिंह पाँचौ नम्बरमा तुइन तर्दै थिए । नेपालतर्फ खाँबो गाडेर तुइन अड्काइएको थियो । पारीपट्टी भारतको गस्कु ईलाकामा रुखमा तुइनको लठ्ठा बाँधिएको थियो ।

जयसिंहभन्दा पछि तुइनबाट भारततर्फ जानका लागि पालो कुरेर बसेका दुईजना थिए । उनीहरु काठमाडौं जाने गाडी चढ्नका लागि भारतको बाटो हुँदै सदरमुकाम खलंगा जान खोजेका थिए । मालघाट (नेपालतर्फ) अर्का ब्यक्ति थिए, तुइन सञ्चालक । सहसचिव गौतम नेतृत्वको पाँच सदस्यीय छानबिन समितिले जयसिंह भन्दा अगाडि तुइन तरेका चारजना र वारिपट्टी रहेका तीन जनासँग भेटेर कुराकानी गरेको छ ।

छानबिन प्रतिवेदनमा जयसिंह महाकालीमा झरेको क्षणलाई यसरी ब्याख्या गरिएको छ, ‘जयसिंह तुइनको लगभग अन्तिम बिन्दुमा पुग्दै थिए, त्यहिबेला भारततर्फबाट ओरालो बाटो झरेर आएका दुईजना सशस्त्र सीमा बल (एसएसबी) का अधिकारीले रुखको फेदभन्दा केही माथि बानेको लठ्ठा फुस्काउँदा जयसिंह महाकाली नदीको भेलमा झरे ।’

सो दृश्य नेपालतर्फ रहेका तुइन सञ्चालक सहित ३ जनाले देखेको समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । जयसिंहभन्दा अगाडि तुइनबाट महाकाली तरेकासँग चाहिँ सशस्त्र सीमा बलको भेट भएन, ‘चारजना हिँडिसकेपछि एसएसबीका दुईजना प्रहरी आएर तार खुस्काउँदा सो घटना भएको छानबिन समितिको निष्कर्ष छ ।’

सहसचिव गौतम नेतृत्वको छानबिन टोलीमा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य थिए ।