कोभिड महामारी नियन्त्रणका लागि भन्दै फिलिपिन्सले नेपाललाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हट्यो

२० भदौ, काठमाडौं । कोभिड महामारी नियन्त्रणका लागि भन्दै फिलिपिन्सले नेपाललाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाएको छ ।

कोरोनाविरुद्धको खोपका कारण भयावहस्थिति नहुने भन्दै फिलिपिन्सले यात्रा प्रतिबन्ध हटाएको हो । फिलिपिन्सले सेप्टेम्बर ६ ९भदौ २१ गते० देखि लागु हुने गरी नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्याण्ड, मलेसिया र इन्डोनेसियामाथि लगाइएको यात्र प्रतिबन्ध हटाइएको जनाएको छ । फिलिपिन्सले नेपालसहित १० एसियाली मुलकमाथि गत अप्रिलदेखि यात्रा प्रतिबन्ध लगाएको थियो ।

१० एसियाली मुलकमाथि यात्रा प्रतिबन्ध हटाउन अन्तर निकाय कोभिड–१९ कार्यदलको सिफारिस फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले स्वीकृत गरेका समाचार एजेन्सी एएफपीले जनाएको छ ।

यद्यपि फिलिपिन्स आउने अन्तर्राष्ट्रिय यात्रुहरूले प्रवेश, परीक्षण र क्वारेन्टिनसम्बन्धी नियम भने पालना गर्नुपर्ने राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकले बताएका छन् । रोकले भने, ‘भारत, नेपाल, पाकिस्तानलगायत १० एशियाली देशहरूबाट आउने अन्तरराष्ट्रिय यात्रुहरूले प्रवेश, परीक्षण र क्वारेन्टिनसम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ ।’

फिलिपिनी नागरिकका कूटनीतिज्ञ तथा विदेशी जीवनसाथी जस्ता विशेष भिषा बहाकहरू बाहेकका प्रतिबन्धित अन्य विदेशी मुलुकका पर्यटकहरूलाई अझै पनि देशभित्र प्रवेश गर्न रोक लगाइएको छ ।

डेल्टा भेरिएन्टको स्थानीय संक्रमण फिलिपिन्सका समुदायहरूमा फैलिएको छ । यहाँ एक हजार ७८९ व्यक्तिमा कोभिड–१९ को डेल्टा भेरिएन्ट संक्रमण पुष्टि भएको छ । यीमध्ये ३३ जनाको मृत्यु भएको छ ।

दक्षिणपूर्वी एसियाली फिलिपिन्समा अहिले बढ्दो कोभिड–१९ संक्रमणमध्ये डेल्टा भेरिएन्ट प्रमुख चुनौति देखिएको छ । विश्व स्वास्थ्य संगठनले अझैपनि डेल्टा भेरिएन्टको समुदायमा रहेको संक्रमणलाई पुष्टि गर्दै भनेको छ, ‘यो अहिले फिलिपिन्समा फैलिरहेको प्रमुख कोभिड–१९ को समस्या हो ।’