नेकपा एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी विभाजन : प्रदेशको इन्चार्ज तोक्नुका साथै ६ सदस्यीय केन्द्रीय सचिवालय गठन

नेकपा एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी विभाजन गरेको छ । स्थायी समिति बैठकले सातमध्ये ६ प्रदेशको इन्चार्ज तोक्नुका साथै ६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । त्यसैगरी उपत्यका विशेष प्रदेश कमिटी, प्रचार विभाग प्रमुख र प्रवास इन्चार्ज पनि तोकेको छ । पार्टीले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा १३ सदस्यीय दस्तावेज मस्यौदा समिति पनि गठन गरेको छ ।

केन्द्रीय सचिवालयमा बेदुराम भुसाल, प्रमेश हमाल,राजेन्द्र पाण्डे, गंगालाल तुलाधर,जयन्त राई र जीवनराम श्रेष्ठ रहेका छन् ।

त्यस्तै प्रदेश इन्चार्जहरुमा प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी, कर्णालीमा प्रकाश ज्वाला तोकिएका छन् । सुदूरपश्चिम प्रदेश इन्चार्ज भने तोक्न बाँकी रहेको स्थायी समिति सदस्य डा। बेदुराम भुसालले जानकारी दिए ।

सो पार्टीले उपत्यका विशेष प्रदेश कमिटीमा विश्वनाथ प्याकुरेल,सम्पर्क विशेष प्रदेशमा विजय गुरुङ,मोर्चा इन्चार्ज डा। विजय पौडेल, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा र प्रवास क्षेत्रको इन्चार्जमा श्रीप्रसाद साह तोकेको छ ।

त्यस्तै सो पार्टीले दस्तावेज मस्यौदा समिति पनि गठन गरेको छ । जसको संयोजक वरिष्ठ नेता झलनाथ खनाल संयोजक तोकिएका छन् । सदस्यहरुमा क्रमशः डा। बेदुराम भुसाल,प्रमेश हमाल,राजेन्द्र पाण्डे,गंगालाल तुलाधर, विजय पौडेल, प्रकाश ज्वाला,जगन्नथ खतिवडा, केशवलाल श्रेष्ठ,सावित्रा भुसाल,रामकुमारी झाँक्री, राजेन्द्र राई, गणेश विक रहेका छन् ।

मस्यौदा समितिले छिटै आयोजना हुने राष्ट्रिय सम्मेलनमा पेस हुने दस्तावेजहरुको मस्यौदा तयार गर्नेछ ।

गत भदौ ९ गते निर्वाचन आयोगबाट मान्यता पाएको सो पार्टीको २ पटक बसेको स्थायी कमिटी बैठकले उक्त निर्णयहरू गरेको नेता भुसालले बताए । उनका अनुसार आइतबार केन्द्रीय सचिवालयको पहिलो बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे बस्नेछ ।

एकीकृत समाजवादीको स्थायी समितिमा अध्यक्ष माधव नेपाल, खनाल, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, प्रमेश हमाल र केशवलाल श्रेष्ठ रहेका छन् । नवगठित पार्टीको अध्यक्ष माधव नेपाल रहेका छन् ।