१९ भदौ, काठमाडौं । सरकारले भदौ २३ गतेका लागि संघीय संसदको दुबै सदनको अधिवेशन बोलाउन सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन भदौ २३ गते दिउँसो ४ बजे बोलाउन सिफारिस गरेको सरकारका प्रवक्ता कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
संसदको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने प्रचलन छ । यसअघि सरकारले साउन ३२ गते संसद अधिवेशन अन्त्य गरेको थियो ।
त्यसको भोलिपल्ट दल विभाजनलाई सहज हुने गरी रजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएको थियो । अध्यादेशअनुसार दल विभाजन भई नयाँ दर्ता भएका दल रोज्न प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्मको समय दिइएको छ ।
त्यसको भोलिपल्ट सरकारले संसद अधिवेशन आह्वानको सिफारिस गरेको हो ।