प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीले आफ्नो पार्टी रोजेको खण्डमा उनीहरूकै सरकारले निरन्तरता पाउने

नेकपा एकीकृत समाजवादीकी नेतृ, रामकुमारी झाँक्री

विराटनगर । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीले आफ्नो पार्टी रोजेको खण्डमा उनीहरूकै सरकारले निरन्तरता पाउने बताएकी छिन् ।

उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले नयाँ दल छान्न पाउने आगामी भदौ २२ गतेसम्मको समय सीमामा मुख्मयन्त्रीद्वय भीम आचार्य र अष्टलक्ष्मी शाक्यले नेकपा (एस) मा आबद्ध भएको खण्डमा मुख्यमन्त्रीद्वयको सरकार टिकाउनलाई विश्वासको मत जुटाउन मद्दत गरिने बताएकी हुन् ।

भदौ २२ गतेसम्म दल छान्ने अधिकार छ ।’ उहाँहरू आउनुभयो भने विश्वासको मत दिलाउन हामी आफैँ खट्ने छौँ । एमालेमै फर्किएको अवस्थामा उहाँहरूले विश्वासको मत लिनुपर्ने हुन्छ। सरकार अल्पमतमा पर्छ, त्यसकारण त्यो प्रकृयाबाट नै नयाँ बाटो सुरु हुन्छ ।’ उनले मुख्यमन्त्रीद्वय आचार्य र शाक्यले एमाले रोजेको अवस्थामा उनीहरुलाई विश्वासको मत दिने भन्ने प्रश्न नै नआउने बताइन् ।

प्रदेश १ का मुख्यमन्त्री आचार्य यसअघि नै आफू एमालेमा आबद्ध भइसकेको बताइसकेका छन् भने बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले अहिलेसम्म आफूलाई कुन पार्टी रोज्ने विषयमा मौन रहँदै आएकी छन् ।

एक अर्को प्रसङ्गमा नेतृ झाँक्रीले नेकपा एस सरकारमा सहभागी हुने विषयले सरकार विस्तारमा ढिलाइ नभएको पनि प्रस्ट पारिन् ।

उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले दल छान्ने समय बाँकी रहेकाले नेकपा (एस) सरकारमा सहभागी हुने बारेमा दलले औपचारिक निर्णय गर्न बाँकी रहेकाले सरकारमा जाने विषयले सरकार विस्तारमा ढिलाइ भएको भन्ने कुरा अनुमान मात्र भएको बताइन् ।

नेतृ झाँक्रीले नयाँ दल निर्माणको प्रक्रियाका लागि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आगामी भदौ २२ गतेसम्म दल छान्ने समय सीमा रहेकाले त्यसपछि केन्द्रसँगै बाँकी रहेका प्रदेशमा पनि समाजवादीसहितको गठबन्धन दलको सरकार निर्णयको प्रक्रिया आरम्भ हुने बताइन् ।

उनले नेकपा एकीकृत समाजवादी पार्टी वैकल्पिक शक्तिका रूपमा उदाउने तथा मुलुककै कम्युनिस्ट आन्दोलनको मुख्य शक्तिका रूपमा निर्माण हुने दाबी समेत गरिन् । एमाले विभाजन भई समाजवादी बनेपछि एमालेमा फर्किएकाले सङ्कट नपर्नेसमेत दाबी गरिन् ।