११ भदौ,बुटवल । हिजो रातिदेखि परेको भारी वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ। परासी हुँदै बगेको झरही नदीमा पानी ओभर फ्लो हुँदा र रावण खन्डा खोलाको बाढी बजारमा पस्दा डुबान भएको हो ।
बाढी पसेर बजारको अधिकांश स्थान जलमग्न भएको छ । बजारका सयौं घरहरु डुबानमा परेका छन् । डुबानले परासी बजारका रामग्राम नगरपालिकाको वडा नंं। १ को सहुवाटिकर, वडा नंं। २ को मस्जिद टोल, हाटबजार टोल, वडा नंं। ३ को सङ्गम टोल, मालटोल, लोकतान्त्रिक टोल, वडा नंं ५ को प्रशासन टोल ड्राइभ टोल, इमली टोल, बुद्ध चोक टोल र वडा नंं ६ पोखरापाली टोल पुरै डुबानमा परेका छन् ।
बाढीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सैनिक ब्यारेकसहित विभिन्न सरकारी कार्यालयहरूमा पनि २ देखि ५ फिटसम्म बाढीको पानी पसेर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायबउ परीक्षक राजु लामाले जानकारी दिएका छन्।
सयौं घरमा बाढी पसेर खाद्यान्न, लत्ताकपडा, फर्निचरका सामानलगायतमा क्षति पुगेको छ ।
वर्षा नरोकिएका कारण बाढी र डुबानले पुर्याएको क्षतिको विवरण संकलन गर्न नसकिएको डीएसपी लामाले बताए । घर भित्रै बाढी पसेकाकारण एक तले घर हुने कैयौं परिवारले वर्षाकै बीच घरको छतमा रात कटाउन बाध्य भएका छन् ।
जिल्लाको सरावल, पाल्हिनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिका र बर्दघाट नगरपालिकाको केही वडाहरु पनि बाढीले जल्मग्न भएको प्रहरीले जनाएको छ।
सुनवल नगरपालिका वडानं. ४ का एक जना १४ वर्षीय किशोर बेपत्ता भएका छन् । बस्तीमा बाढी पसेकाले उनी बाढीमा बगेको आशंका प्रहरीले गरेको छ । उनको खोजीकार्य भइरहेको छ ।