Breaking News

ओलीको भ्रममा नपरी कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई अपिल

८ भदौ, काठमाडौं । हिजो बालकोट एमाले अध्यक्ष ओली निवासमा अध्यक्ष ओली र एमालेको तेस्रो पक्षबीच भएको सहमतिबारे नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले वार्ता र सहमतिको भ्रममा नपर्न र कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई अपिल गरेका छन् ।

पटक-पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएको उनको भनाइ छ ।

‘नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका छन्,’ नेता नेपालले सामाजिक सन्जालमा लेखेका छन्, ‘यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका बेला नेपालले उक्त धारणा सार्वजनिक गरेका हुन् ।

कम्युनिष्ट आन्दोलन र संस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्य सहित नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको उनको भनाइ छ । नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढ्नुलाई उनले दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोह भनेका छन् ।

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष, माधव कुमार नेपाल