२ भदौं, हेटौंडा । काठमाडौंमा नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन गरेर नेकपा एमाले समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गरिरहंदा माधव नेपाल पक्षकै नेतृ अष्टलक्ष्मी शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री नियुत्त भएकी छन् । एमाले बागमती प्रदेश संसदीय दलको नेताबाट पौडेलले राजीनामा दिएर मुख्यमन्त्री पदबाट समेत राजीनामा दिएर नेतृ अष्टलक्ष्मी शाक्य दल नेतासँगै मुख्यमन्त्री उपहार दिएको बताएका छन् ।
एमाले उपाध्यक्ष समेत रहेकी शाक्यले बुधबार साँझ नै पद तथा गोपनियताको सपथ लिएकी छन् । साथै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छन् ।
कृष्ण खनाल सामाजिक विकासमन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्ति गरिएको छ । पाण्डेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ ।
मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्य माधवकुमार नेपाल समूहमा दरो रुपमा लागेकी थिइन । तर एमाले फुटाएर एमाले समाजवादी बनाउने नेता नेपालको कदममा साथ नदिएर उनी ओलीले दिएको मुख्यमन्त्री उपहार सम्हाल्न हेटौडा पुगिन ।
निर्वतमान मुख्यमन्त्री पौडेलले संसदीय दलको नेता र मुख्यमन्त्रीको राजीनामा दिएर मुख्यमन्त्री पद शाक्यलाई सुम्पेपछि प्रतिक्रिया दिने क्रममा उनले, शाक्यले पार्टी एकताको पक्षमा लडेकाले पुरस्कार स्वरुप मुख्यमन्त्री बनाएको बताएका
छन् । पार्टी एकताका लागि मैले त्याग गरेको भन्दै उनले भने, उहाँ (अष्टलक्ष्मीं) पहिला जसरी सशक्त विरोधमा हुनुहुन्थ्यो, तर अहिले पार्टी एकताको पक्षमा उभिनुभएको छ । पार्टी फुटेर जाँदा पनि उहाँ एकताका पक्षमा लड्नुभयो, त्यसको पुरस्कार हामीले उहाँलाई दिएका हौं ।
एमालेबाट बागमती प्रदेश सभामा ५६ जना सांसद छन् । कुल ११० सांसद रहेको बागमतीमा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ ।
एमालेको एकल बहुमत भएकाले उनी संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री नियुक्त भएकी हुन् । तर माधव नेपाल नेतृत्वमा बसेके एमाले समाजवादीमा बाग्मतीका कति सांसद लाग्छन् भन्नेमा धेरै निर्भर हुन्छ र उनको मुख्यमन्त्री पद पनि भोलिका दिनमा माधव नेपाल पक्षकै सांसदको भरमा निर्भर रहन्छ ।