२८ साउन, काठमाडौं । सरकारले त्रिभुवन विश्व विद्यालय अन्तर्गत सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिन शुरु गरेको छ ।
काठमाडौं उपत्यकाका पाँच वटा खोप केन्द्रबाट प्रवेशपत्रको आधारमा विद्यार्थीहरुलाई आज बिहीबारदेखि खोप दिन शुरु गरिएको हो ।
काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल, निजामति कर्मचारी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउन सक्नेछन् ।
त्रिविले सञ्चालन गर्ने करिब ६० हजार परीक्षार्थीलाई खोप दिने निर्णय बुधबारको सचिव स्तरीय बैठकले गरेको थियो ।
स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा। झलक शर्मा गौतमले उपत्यका बाहिरका विद्यार्थीले भने नजिकैको खोप केन्द्रमा गएर प्रवेशपत्रको आधारमा खोप लगाउन सक्नेछन् ।