२८ साउन, काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा आज बिहीबार दिउंसो ३ बजेभिध विपक्षी गठबन्धनले दाबी पेस गर्दै छ ।
मुख्यमन्त्री शंकर पोखरेलले हिजो बुधबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई आज दिउँसो तीन बजेसम्मको समय दिएर सरकारमा दाबी पेस गर्न भनेका थिए ।
कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले आज सरकारको नेतृत्वमा दाबी पेस गर्न लागेको हो । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । कांग्रेस र माओवादीबीच आठ(आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ । सोही सहमति अनुसार सुरुको आठ महिनाका लागि माओवादी नेता केसीलाई अघि सारिएको हो ।
मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी दलका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेपछि बुधबार प्रदेशसभामा उक्त अविश्वास प्रस्तावमाथि छलफल राखिएको थियो । तर प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल भइरहेका बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आहृवान गरेका हुन् ।