कोरोना महामारीको सुरुवाती समयमा थुप्रै विशेषज्ञलाई लागिरहेको थियो कि कोभिड–१९ को तनावका कारण मानिसहरुको रोमान्टिक जीवन ध्वस्त हुनेछ । तर हालै गरिएको एक अनुसन्धानमा पत्ता लागेको छ कि महामारीको समयले मानिसहरुको सम्बन्ध उत्कृष्ट बनाउने काम गरेको छ ।
Monmouth Universityद्वारा फेब्रुअरीमा जारी गरिएको एक राष्ट्रिय अनुसन्धानका अनुसार ७० प्रतिशत रोमान्टिकल्ली कमिटेड अमेरिकी आफ्नो सम्बन्धबाट पूर्णतः सन्तुष्ट छन् । यो आँकडा पछिल्लो सर्वेक्षणको तुलनामा ११ अंकले बढी छ । यस्तो अनुसन्धान विश्वविद्यालयले पछिल्लो ६ वर्षदेखि गराउँदै आएको छ ।
यी आँकडाको रेखदेख गर्ने पार्टनरशिप साइकोलोजिस्ट तथा डा. गेरी लेवान्डोव्स्की भन्छिन्, ‘हामी सम्बन्धप्रति एक कठोर दृष्टिकोण राख्ने गर्छौं जसमार्फत् हामीलाई सम्बन्धमा सम्भावित समस्या बुझ्न मद्दत मिल्छ ।
‘महामारी होस् वा नहोस् सम्बन्धमा नजिक यत्तिकै भइँदैन । केही शर्त यस्ता छन् जसले सम्बन्धलाई अरुको तुलनामा बढी बलियो बनाउँछ,’ उनी भन्छिन् ।
न्यू जर्सीमा बस्ने २५ वर्षका डेनियल रक कप्लिनले सम्बन्धको यो गहिराइलाई निकै सुक्ष्म ढङ्गले बुझाएका छन् । अघिल्लो वर्ष लकडाउनमा डेनियल आफ्नी प्रेमिकासँग करिब एक वर्षसम्म क्वारेन्टिनमा बसे । तर प्रेमिका आफ्नो परिवार भएठाउँ जाँदा यी दुई अलग्गिनुपर्यो । डेनियलका अनुसार प्रेमिकासँग जोडिइरहनका लागि गरिएको कडा मिहिनेतले उनीहरुलाई थप नजिक ल्याइदियो ।
डेनियल भन्छन्, ‘यस्तो परिस्थितिमा तपाईंहरु सँगै बस्नुबाहेक अरु विकल्प रहँदैन । यसका कारण तपाईंको मनमा अनावश्यक विचार
आउँदैन । जस्तै – के मेरो पार्टनरले मलाई साँच्चै नै मन पराउँछन् ? वा के मेरा पार्टनर मसँग बस्न चाहन्छन् ? क्वारेन्टिनमा बस्दा मलाई महसुस भयो कि हामी साँच्चै नै एक–अर्कासँग कुरा गरेर निकै खुसी हुन्छौं ।’
त्रिनिदादको आइल्याण्डमा बस्ने २७ वर्षकी लतिफा लिवरपूल सात वर्षदेखि आफ्ना प्रेमीसँगै बसिरहेकी छिन् । उनले भनिन्, ‘महामारी अघि हामी दुई यात्रा र पार्टीमा आफ्नो समय व्यतित गर्दथ्यौं । तर लकडाउनले हामीलाई नयाँ ढङ्गले एक–अर्कालाई बुझ्ने मौका दियो । हामी दुबैले अचानक एक–अर्काको मनपर्ने टिभी शो सँगै बसेर हेर्ने मौका पायौं ।’
लतिफाका अनुसार हामीले वास्तवमा एक अर्कालाई बुझ्न सुरु गरेका थियौं । उनले आफ्नो पार्टनरको एउटा मनपर्ने शोको कुरा गर्दै भनिन्, ‘उनले निकै उत्साहित भएर मलाई शोको ब्याकस्टोरी सुनाउने गर्दथे । यसमार्फत् मैले उनको बाल्यकालबारे पनि धेरै कुरा थाहा पाउने मौका पाएँ । ’
लतिफाले आफूहरु पहिलाको तुलनामा बढी रोमान्टिक भएको र अली बढी नै इन्टिमेट हुन थालेको पनि बताइन् ।
मिनेसोटामा बस्ने ४५ वर्षका ग्लेन इर्विन फ्लोरेस भन्छन्, ‘म आफ्नी श्रीमतीसँग सधैं वाकमा जान्थेँ, यसका कारण उनलाई महसुस हुन्थ्यो कि म उसलाई कति केयर गर्छु । हामीबीच बढेको फिजिकल एक्टिभिटीले कठोर मुद्दामा खुलेर कुरा गर्न सहज बनाइदिएको थियो ।’
फ्लोयेरले भने, ‘मैले रक्सीको लत छोडेको थिएँ । अब हामी एक–अर्कासँग समय बिताउन थालेको थियौं । एक अर्कालाई सुन्न थालेको थियौं । समय पछि एक–अर्कालाई समय नदिँदा हाम्रो सम्बन्ध निकै खराब भएको थियो । एकपटक त यस्तो समय आएको थियो जब हामीले म्यारिज काउन्सिलबारे सोच्न थालेका थियौं ।’
शिकागोस्थित कपल्स थेरापिस्ट शेमियाह डेरिक भन्छिन्, ‘तनावका बीच पनि महामारीका कारण भएको लकडाउन र सामाजिक दुरीले दौडधुपयुक्त जीवनलाई बिराम दिने काम गरेको छ । मानिसहरु आफ्नो पार्टनरसँग गुणस्तरीय समय व्यतित गर्न थालेका छन् जुन यसअघि निकै कम देख्ने गरिन्थ्यो । यसले सम्बन्धमा थप घनिष्ठता पनि आएको छ । ’