श्रीलंकामा नीलमको एक क्लस्टर (समूह) फेला

एजेन्सी

१३ साउन, काठमाडौं । श्रीलंकाका अधिकारीहरुले नीलमको एक क्लस्टर (समूह) फेला परेको बताएका छन् । रत्नापुरामा रहेको एक व्यापारीको घरको आँगनमा इनार खन्ने क्रममा उक्त नीलम फेला परेको हो ।

रत्नापुरामा विभिन्न प्रकारका रत्नहरु पाइने गरेका छन् । जानकारहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा यो निलो रङ्गको यो नीलमको मूल्य करिब १० करोड डलर रहेको छ ।

अहिले फेला परेको नीलमको तौल ५१० किलोग्राम छ । यसलाई ‘सरेन्डिपिडी सफायर’ अर्थात् ‘भाग्यले भेटिएको नीलम’ नाम दिइएको छ । यो नीलमका धनीले सुरुमा मजदुरले इरान खन्दै गर्दा केही बहुमूल्य पत्थर फेला पारेको र पछि जाँच्दा त्यो नीलम भएको पुष्टि भएको बताएका
छन् । उनले सुरक्षाको कारण आफ्नो नाम भने बताएका छैनन् ।

अधिकारीहरुलाई उनले यस विषयमा जानकारी गराएका थिए । तर, यो निलम सफा गर्न एक वर्षभन्दा लामो समय लाग्छ । त्यसपछि मात्र यसको सही मूल्यांकन गर्न सकिने बताइएको छ ।

श्रीलंका सबैभन्दा धेरै बहुमूल्य धातु निर्यात गर्ने मुलुकमध्येको एक हो । गत वर्ष श्रीलंकाले बहुमूल्य धातु निर्यात गरेर करिब ५० करोड डलर आम्दानी गरेको थियो । पछिल्लो समय कोरोना महामारीको कारण बहुमूल्य धातुको उद्योग समस्यामा परेको समयमा सबैभन्दा ठूलो नीलम फेला परेको हो ।

-एजेन्सीहरुको सहयोगमा