Breaking News

श्रीमान् केटी बोकेर डेढ वर्षदेखि फरार, श्रीमतीको बेहाल

१२ साउन, काठमाण्डौ । नुवाकोट जिल्ला ककनी गाउंपालिका ३ चाउथे, आँगेटार स्थायी घर भएकी वर्ष २७ की सुमित्रा राईको वर्ष ३० को श्रीमान् सुनिल राईले २०७७ साल चैत्र महिनामा अर्कै केटी लिएर फरार भएको र आजसम्म पनि बेखबर अवस्थामा रहेको छ । आजको दिनसम्म श्रीमती, बच्चा र घरपरिवारसंग समेत सम्पर्कमा नआएको र भगाएर लिएको केटीबाट बच्चा समेत जन्माईसकेको बताइएको छ ।

शुरुको चैत्र/बैशाखमा फोन र म्यासेन्जरबाट कुराकानी हुंदा निज सुनिलले आफ्नी श्रीमती सुमित्रालाई मलाई मतलव छैन जे र्गछस् गर अर्को विवाह गर्ने भएपनि गर मेरो तर्फबाट छुटकारा छ भनेर धम्काउने, हप्काउने गरेको भए पनि पछिल्लो डेढ वर्षमा फोन वा फेसबुक म्यासेन्जरबाट कुराकानी समेत नभएको साथै सम्पर्क भइरहने नम्बरमा फोन नलाग्ने बनाईएको, फेसबुक साथिबाट समेत हटाईएकाले सम्पर्क नभएको र खोजिनीति गर्दा पनि नभेटिएको उनकी श्रीमती सुमित्रा राईले कदर न्यूज संगको कुराकानीमा दुखेको पोख्नु भएको छ ।

पिडित सुमित्रा राईका अनुसार आफुलाई १० वर्ष अगाडी १४ वर्षकै कलिलो उमेरमा प्रेममा पारेर विवाह गरेको तर आज १० वर्षपछि श्रीमान् सुनिल राईले अर्कै केटी लिएर डेढ वर्षदेखि फरार भएको र अहिले साथमा ८ वर्षको छोरा समेत रहेको बताइन । आफु त्यति नपढेको र शहरी क्षेत्रमा त्यति ज्ञान नभएकाले र घरपरिवार र माईतिपरिवारबाट समेत सहयोग र साथ नभएकाले अहिले आफुलाई साथमा रहेको बच्चा र आफ्नो गुजरा गर्न कठिन भएको दर्दानक दुःखका कुरा सुनाईन ।

चार वर्ष अघि घरपरिवार र आफ्नो सल्लाह र सहमतिमै बिदेशमा पठाएको श्रीमान् सुनिलले मासिक २५ हजार जति आफ्नै नाममा पठाउंदै आएको भए पनि पछि भारतको सिक्किमकी केटी संग कतारमा नै भेट भएको र आफ्नौ श्रीमान नेपाल फिर्ता भएको ४ महिनापछि सो कटी पनि नेपाल आएपछि श्रीमान् सुनिलले सो केटीलाई भगाएर फरार भएको उनले बताइन ।

पिडित सुमित्राले आफ्नो श्रीमान सुनिलले केटी भगाएर फरार भएपछि खोजिपाउं भनि प्रहरी कार्यालय टेकुमा निवेदन दिएको तर आजसम्म पनि पुलिस प्रशासनले चासो र खोजिनीति नगरेको तर उल्टै तपाई यति राम्री हुनुहुन्छ किन खोजिरहनु हुन्छ अर्को विवाह गरेर बस भन्ने जस्ता शब्द बोलेको बताइन ।

उनले आफ्नो श्रीमानको घरपरिवार सासु, ससुरा संग समेत न्याय माग्दा तिम्रो श्रीमान हो तिमी नै खोज, यदि तिमीले अंश (संम्पत्ति) लिने भए पहिला तिम्रो बुढो खोजेर ल्याऊ त्यसपछि मात्र अरु कानुनी र अंशका कुरा गरौला अहिले आफूहरुले केही गर्न नसक्ने र आफ्नो छोरालाई खोज्न पनि नजाने बताएको उनले सुनाईन । त्यसपछि वडा कार्यालयमा गए वडामा पनि यो हामीले गर्ने कुरा होइन पुलिस प्रशासनमा जाऊ भनेर टारेको र माइती परिवारबाट समेत चासो र सपर्ट नपाएको दुखेको पोखिन । उनले केटी भगाएर फरार भएको आफ्नो श्रीमानलाई खोजिदिन प्रशासन, आफन्त, परिवार, स्थानीय सरकार, वडा कार्यालय, पुलिस र मिडिया मार्फत् जानकारी र अवगत गराउंदा पनि कोही कसैले चासो र प्रभावकारी कदम नचालिदिएकोले आज डेढ वर्ष भयो आफ्नो श्रीमान् को पत्तो लागेको छैन र न्याय पनि पाएकी छैन ।

सुमित्राका अनुसार आफ्नो श्रीमान् विदेशबाट आएपछि करिब ४ महिना संगै बसेको र राम्रो सम्बन्ध भएको तर थाहा नै नभई केटी भगाएर गएको कुरा सुनिएपछि केही दिन त होइन होला त्यतिकै प्रचार गरे होलान भन्ने लाग्यो । कतै साथिहरुको मा जानु भएको होला भन्ने सोचले खोजिनीति गरे पछि थाहा भयो की भारत सिक्किमकी केटीसंग दुबै मै सम्पर्क, भेट हुंदोरहेछ र श्रीमान नेपाल आएको ४ महिना पछि त्यो केटी पनि नेपाल आएपछि त्यही केटीसंग भागेको खुल्न आएको तर खोजिनीतिका कयौं प्रयास गर्दा पनि आजसम्म भेट नभएकोे वा नभेटिएको दुखेसो पोखिन । उनी अगाडी भन्छिन्, मेरो श्रीमान् भेटाईदिनुहोस् म समाज राखेर कानुनी प्रक्रिया अनुसार छोडपत्र गरेर आफुले पाउने अंश लिएर आफु छुटकरा गराईदिन अनुरोध पोखिरहेकी छन् ।