नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित

९ साउन काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । यसअघि देशभर वडा अधिवेशन साउन १२ गतेका लागि तोकिए पनि शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले स्थगित गर्ने निर्णय गरेको हो ।

‘साउन १२ को वडा अधिवेशन स्थगन गर्ने सल्लाह पदाधिकारी बैठकमा भएको छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘अब कहिले गर्ने भन्नेमा पछि निर्णय हुन्छ ।

प्रवक्ता शर्माले महाधिवेशन कार्यतालिका प्रभावित भएपनि भदौ १६ देखि सुरु हुने केन्द्रीय महाधिवेशनका बारेमा कुनै निर्णय नभएको बताए । ‘वडा अधिवेशन स्थगन हुनुको अर्थ केन्द्रीय महाधिवेशन पनि सर्छ भन्ने होइन,’ उनले भने, ‘अहिले केन्द्रीय महाधिवेशनको मिति यथावत नै छ ।’

वडा अधिवेशन स्थगन भएसँगै कांग्रेसको महाधिवेशन कार्यतालिका पनि प्रभावित भएको छ । कांग्रेसले १२ साउनमा वडा अधिवेशन, १६ साउनमा स्थानीय तहको अधिवेशन, २० साउनमा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन गर्न गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।

त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २३ साउन, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन, प्रदेश अधिवेशन १ र २ भदौ र केन्द्रीय महाधिवेशन १६–१९ भदौमा हुने कार्यतालिका थियो ।

क्रियाशील सदस्यताको काम कार्यतालिका अनुसार नहुँदा महाधिवेशन प्रभावित भएको हो । शनिबार सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले अहिलेसम्म समितिले गरेका कामको बारेमा जानकारी गराएका थिए ।

समितिले १२ साउनमा सदस्यताको अन्तिम सूची सभापति देउवालाई बुझाउने भएको छ । सभापति देउवाले हस्ताक्षर गरेपछि क्रियाशील सदस्यताको सूची केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गर्नेछन् । त्यसपछि निर्वाचन समितिले देशभरका सबै वडामा निर्वाचन अधिकृत खटाउनेछ ।

कांग्रेस महाधिवेशनमा क्रियाशील सदस्य प्रारम्भिक मतदाता हुन् । क्रियाशील सदस्यले नै वडा समिति चयन गर्नुका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्छन् । क्षेत्रीय प्रतिनिधिले जिल्ला नेतृत्वका साथै केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने कांग्रेसको विधानको व्यवस्था छ । कांग्रेसमा १४ औं महाधिवेशनमा आठ लाख ५० हजार बढी क्रियाशील सदस्य रहेका छन् ।

बैठकमा सभापति देउवाले पार्टी कार्यालय सानेपामा जारी धर्ना र अनसनको सम्बोधन गर्न निर्देशन दिएका छन् । उनले शनिबार साँझसम्म धर्नामा बसेका नेता कार्यकर्ताको विषयगत माग सम्बोधन गर्न निर्देशन दिएका हुन् ।