अघिल्लो सरकारले पानीजहाजदेखि चुच्चे रेल चलाएकाले नयाँ सरकारलाई सहज हुने

प्रकाशमान सिंह

८ साउन, काठमाडौं । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले अघिल्लो सरकारले पानीजहाजदेखि चुच्चे रेल चलाएकाले नयाँ सरकारलाई सहज हुने टिप्पणी गरेका छन् ।

बैठकमा सिंहले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने ‘एक किसिमले उहाँ लक्की नै हुनुहुन्छ किनभन्दा ओलीजीको साढे तीन वर्षको समयमा उहाँले पानीजहाज पनि चलाइसक्नुभएको छ ।

दुवै छिमेकीलाई चुच्चे रेलले जोड्नु भएकै छ । हाइवेमा रनवे बनेकै छ । यही कारण हाम्रा प्रधानमन्त्रीलाई काम सजिलै होला भन्ने लागेको छ ।’

सांसद सिंहले खोप व्यवस्थापनमा कमजोरी देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । आफ्नो पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप, तेस्रो प्राथमिकता खोप भन्ने प्रधानमन्त्रीको प्रतिवद्धता फेमस भइसकेको उनले बताए ।

उनले कोरोनासँगै भ्रष्टाचारको भाइरसलाई पनि सरकारले नियन्त्रण गर्नुपर्ने बताएका छन् ।