युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपि) आजबाट खुल्यो

कम्पनीले अंकित मूल्य १ सयका दरमा कुल ६४ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयर निष्कासन गरेको हो।

जसमध्ये सामुहिक लगानी कोष र कर्मचारीलाई छुट्याएपछि ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ। कम्पनीको आइपिओमा २८ गतेसम्म आवेदन दिन सकिनेछ। बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल रहेको छ।

कम्पनीले इक्रा नेपालबाट ट्रिपल बी रेटिङ प्राप्त गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता औसत जोखिम रहेको जनाउँछ। इक्रा नेपालले एएए देखि डीसम्म रेटिङ प्रदान गर्दछ। जसले एएए सबैभन्दा राम्रो र डी सबैभन्दा कमजोर संकेत गर्दछ।

कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

सिडिएससीको अनलाइन माध्यम मेरो सेयरमार्फत् वा आफ्नो खाता रहेको बैंक शाखाबाट पनि आवेदन भर्न सकिनेछ।
नयाँ जीवन बीमा कम्पनीमध्ये यसअघि प्रभु, ज्योति र रिलायन्स लाइफले आइपिओ जारी गरिसकेका छन्।

आइएमई, रिलायबल, सिटिजन, सन नेपाल, सानिमा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गर्न बाँकी छ। यी कम्पनीहरूले पनि क्रमश आइपिओ जारी गर्नेछन्।