Breaking News

कोभिडकालमा यसरी फस्टाए विश्वका अर्बपतिहरु

२४ असार, काठमाडौं । पछिल्लो दुई दशकमा विश्वका अर्बपतिहरुको संख्या पाँच गुणा भन्दा धेरैले बढ्यो र सबैभन्दा धनी व्यक्तिको सम्पत्ति १ खर्ब डलर नाघ्यो । अर्बपतिहरुको संख्यामा तीव्र वृद्धिसँगै आर्थिक असमानतामा पनि उच्च बढोत्तरी भैरहेको छ जसले पुँजीवाद विरुद्ध आम मानिसहरुबाट चरम असन्तुष्टि र विरोधको खतरा पनि बढीरहेको छ ।

भाइरस संक्रमण बढेसँगै विश्वका केन्द्रीय बैंकहरुले आर्थिक वृद्धिलाई जीवितै राख्नका लागि अर्थतन्त्रमा ९० खर्ब डलर रकम हालिसकेका छन् । यो मध्ये अधिकांस रकम वित्तिय बजारमा गएको छ र त्यहाँबाट अन्ततः त्यो रकम विश्वका ठूला धनाढ्यहरुको सम्पत्तिमा गएर थपिएको छ ।

विश्वका अर्बपतिहरुको कूल सम्पत्ति पछिल्लो १२ महिनामा ५० खर्बबाट बढेर १३० खर्ब डलर पुगेको छ । फोर्ब्स म्यागेजिनले सार्वजनिक गर्ने वार्षिक तथ्यांकको इतिहासमा यो हालसम्मकै उच्च तथा नाटकीय वृद्धि हो ।

ठूला सिमित अर्बपतिहरुको सम्पत्ति बढेको मात्र होइन यस अवधिमा विश्वमा अर्बपतिहरुको संख्यामा पनि उच्च वृद्धि भयो । फोर्ब्सको अर्बपतहिरुको अप्रिल ६ मा सार्वजनिक पछिल्लो सूचि अनुसार विश्वमा पछिल्लो वर्षमा अर्बपतिहरुको संख्या ७ सयले बढेर २७ सय पुगेको छ । यसमध्ये अर्बपतिहरुको सबैभन्दा ठूलो वृद्धि चीनमा देखियो जहाँ कूल २ सय ३८ जना नयाँ अर्बपति थपिएका छन् । यो भनेको हरेक ३६ घण्टामा एकजना अर्बपति थपिनु हो । यो सँगै चीनमा डलर अर्बपतिहरुको संख्या ६ सय २६ पुगेको छ ।

नयाँ अर्बपतिहरु थपिने मुलुकको सूचिमा चीनपछि अमेरिका दोश्रो स्थानमा रहेको छ । अमेरिकामा पछिल्लो एक वर्षमा १ सय १० जना अर्बपति थपिएसँगै अमेरिकी अर्बपतिहरुको संख्या ७ सय २४ पुगेको छ ।

त्यस्तै भारत यो वर्ष विश्वमा सर्वाधिक अर्बपति भएको मुलुकको सूचिमा रुसलाई पछि पार्दै तेश्रो स्थानमा उक्लिएको छ । भारतमा एक वर्षमा ३८ जना नयाँ अर्बपति थपिएर कूल १ सय ४० जना डलर अर्बपति भएका छन् ।

सबैभन्दा धेरै कमाउने केही अर्बपतिहरुले एक वर्षमा दशौँ अर्ब डलर आम्दानी गर्न सफल भएका छन् जुन केही अगाडिसम्म उनीहरुको जिवनकाल भरीमा समेत असम्भव देखिन्थ्यो । एक वर्षमा सबैभन्दा धेरै कमाउनेमा टेस्ला सिइओ एलन मस्क पहिलो नम्बरमा छन् । यस अवधिमा उनको सम्पत्ति २५ अर्बबाट बढेर डेढ खर्ब डलर पुगेको छ ।

मुलुकको समग्र अर्थतन्त्रको हिसाबले भारत तुलनात्मक रुपमा कमजोर नै छ । तर भारतमा सिमित अर्बपतिहरुको सम्पत्ति मुलुककै कूल गाह्रस्थ उत्पादनको १७ प्रतिशत रहेको छ । मुलुकको कूल गाह्रस्थ उत्पादनको अनुपातमा देशका अर्बपतिहरुको निजी सम्पत्ति यतिधेरै भएका मुलुकहरुमा भारत अग्रस्थानमै आउँदछ । महामारीको यो समयमा भाइचारा पुँजीवादको सहयोगमा व्यापक आम्दानी गरेका भारतीय अर्बपतिहरु मध्ये अधिकांस औद्योगिक घराना परिवारका छन् ।

अमेरिका : अर्बपतिहरुको सम्पत्ति अर्थतन्त्रको २० प्रतिशत

भारतमा अर्बपतिहरुको कूल सम्पत्ति देशको कूल गाह्रस्थ उत्पादनको १७ प्रतिशत रहेकोमा अमेरिका त्योभन्दा पनि अगाडि छ । सन् २०१० को दशकको पूर्वार्धतिर अमेरिकी अर्बपति वर्ग सन्तुलित देखिन्थ्यो । त्यस समयमा अमेरिकाका अर्बपतिहरुको सम्पत्ति देशको जिडिपीको १० प्रतिशत थियो जुन धनी देशहरुको लागि औषत अंक हो । र, अर्को सकारात्मक पक्ष भनेको निकै कममात्र अमेरिकी टाइकुनहरु खराब उद्योग तथा पुर्खौली सम्पत्तिको आधारमा अर्बपति बनेका छन् ।

सन् २०१५ मा आइपुग्दा यो दृश्य परिवर्तन भयो । अमेरिकी अर्बपतिहरुको सम्पत्ति देशको कूल जिडिपिको १५ प्रतिशत पुग्यो । त्यस वर्ष अर्बपति वर्गहरु विरुद्धको अभियान चलाउँदै बर्नी स्यान्डर्स अमेरिकी राष्ट्रपति पदको उम्मेदवार बने र उनको उक्त अर्बपति विरोधी अभियानमा धेरै मानिस जोडिए । तर अमेरिकी अर्बपतिहरुको सम्पत्ति थुप्रिने क्रम रोकिएको छैन । अहिले अमेरिकी अर्बपतिहरुको सम्पत्ति अमेरिकाको कूल गाह्रस्थ उत्पादनको २० प्रतिशत पुगेको छ ।

स्विडेन

पछिल्लो समयमा अर्बपतिहरुको आकाशिँदो सम्पत्तिको मामिलामा स्विडेनले अमेरिकालाई पनि पछि पारेको छ । अघिल्लो वर्षमात्रै स्विडेनमा १० जना डलर अर्बपति थपिए र कूल अर्बपतिको संख्या ४१ पुग्यो । स्विडेनमा अर्बपतिहरुको सम्पत्ति देशको कूल गाह्रस्थ उत्पादनको ३० प्रतिशत रहेको छ ।

युरोपको समाजवादी भनिने मुलुक स्विडेनमा अर्बप्तिहरुको सम्पत्ति मुलुककै जिडिपिको झण्डै एक तिहाई पुगेको छ । त्यस्तै परम्परागत रुपमै वाम झुकाव भएको फ्रान्समा पछिल्लो वर्ष अर्बपतिहरुको सम्पत्ति जिडिपिको ११ प्रतिशतबाट १७ प्रतिशत पुगेको छ ।

बेलायतमा भने अर्बपतिहरुको सम्पत्ति जिडिपिको तुलनामा कम अर्थात् ७ प्रतिशत मात्रै छ । यसले बेलायती पुँजीवाद अनि फ्रेन्च तथा स्विडिस समाजवादको बारेमा रहेको परम्परागत बुझाइलाई गलत सावित गरिदिएको छ ।

स्विडेनले समाजवादी लोकतन्त्रको केन्द्रीय तत्वको रुपमा रहेको सम्पत्ति तथा कर तथा पुर्खौली सम्पत्तिमा लगाइने कर हटाइसकेको छ । स्विडेन आफ्नो देशका विश्वस्तरीय प्रतिस्पर्धी कम्पनीका संस्थापकहरुलाई पर धकेल्न चाहँदैन । विश्व प्रसिद्ध स्विडिस कम्पनी इकियाका संस्थापक अर्बपति इंगभार काम्पार्डको सन् २०१८ मा मृत्यु भएसँगै एउटा पत्रिकाले लेखेको थियो स्विडेनमा उनीजस्तो लोकप्रिय मान्छेको नाम भन्न गाह्रो छ ।

चीन : माओ भर्सेस मनी

अर्बपतिको सम्पत्ति थुप्रिने मामिलामा चीन पनि पछाडि रहेन । गतवर्ष चिनियाँ अर्बपतिहरुले समग्रमा १० खर्ब डलर सम्पत्ति थप गरे र चिनियाँ अर्बपतिहरुको सम्पत्ति देशको कूल गाह्रस्थ उत्पादनको १५ प्रतिशत पुगेको छ । चिनियाँ अर्बपतिहरुको सूचिमा पछिल्लो समयमा पूरानो अर्थतन्त्रको हिस्सा घट्दै गएको छ र इ कमर्श, औषधि लगायतका कम्पनीहरुमार्फत् नयाँ अर्थतन्त्रको हिस्सा बढीरहेको छ । चीनसँगै ताइवान र दक्षिण कोरियामा पनि यस्तो असल उद्योगबाट उदाएका अर्बपतिहरुको संख्या ४० प्रतिशतको हाराहारीमा छ ।

सन् २०१० को दशकसम्म चीनमा एउटा अलिखित नियम नै थियो कि कुनैपनि धनाढ्यले १० अर्ब डलर भन्दा बढी निजी सम्पत्ति राख्न नपाउने । आफ्नो सम्पत्ति झण्डै १० अर्ब डलर पुग्न आँटेका चिनियाँ अर्बपतिहरुमाथि सरकारी अभियोजकहरुको निसाना पर्ने गर्दथ्यो । जब ठूला इन्टरनेट कम्पनीहरुले गति लिए तब त्यसका संस्थापकको सम्पत्ति पहिलोपटक सन् २०१४ मा १० अर्ब डलर नाघ्यो । त्यसको ७ वर्ष पछाडि हाल आएर चीनमा १० अर्ब डलर भन्दा धेरै सम्पत्ति भएका अर्बपतिहरुको संख्या ५० भन्दा धेरै छ ।

ज्याक मा

यद्यपि चीन सरकारले अर्बपतिहरुमाथि लगाम पनि कस्न थालेको छ । अलिबाबा कम्पनीका संस्थापक ज्याक माको एन्ट ग्रुप कम्पनीमाथि सरकारी कडा रबैया यसको एक उदाहरण हो । तर विश्वको नम्बर वान अर्थतन्त्र बन्ने उद्देश्य लिएको चीनले यसको अर्थतन्त्रको मुख्य हिस्सा रहेको इन्टरनेट कम्पनीहरुमाथि आगामी दिनमा कठोर व्यवहारलाई निरन्तरता नदिन सक्दछ ।

मुलुकको अर्बपति वर्गसँग अमेरिकाको सम्बन्ध पनि कम जटिल छैन । हरेक व्यक्ति जतिसुकै धनी पनि बन्न पाउने सिद्धान्तमा आधारित रहेको अमेरिकी अर्थतन्त्रमा आफ्नो अर्बपति हुने सपना पूरा गर्ने धनाढ्यहरुप्रति सरकारी निगरानी तथा नियन्त्रण पनि कम नै छ । २० औँ शताब्दीको सुरुवाततिर चरम असमानता रहेको अमेरिकी समाजमा जोन डी रकेफेलर जस्ता अर्बपतिहरु सामाजिक सत्रुकै रुपमा गनिन्थे । तर अहिलेको समयमा अर्बपतिहरुलाई खलनायक होइन सेलिब्रेटीको रुपमा मान्ने गरेको छ अमेरिकी समाजले । अनि बिल गेट्स तथा वारेन बफेट जस्ता अर्बपतिहरुलाई आफ्नै बलबुताले अर्बपति बन्न तथा लोककल्याणकारी कार्यमा लाग्न पनि प्रेरित गर्यो ।

अमेरिकी अर्बपतिहरुको सम्पत्तिको श्रोतमाथि तुलनात्मक रुपमा कम प्रश्न उठ्ने गरेको छ । एक तिहाई अमेरिकी अर्बपतिहरु असल उद्योगहरुबाट बनेका अर्बपति हुन् । गुड बिलेनियर भएका विकशित मुलुकहरुमा अमेरिका सबैभन्दा अगाडि छ । अमेरिकी अर्बपतिहरुमध्ये केवल एक चौथाई मात्र पुर्खौली सम्पत्तिका कारण अर्बपति बनेका हुन् । स्मरण रहोस् फ्रान्स, जर्मनी तथा स्विडेनमा यस्ता अर्बपतिको संख्या ६० प्रतिशत जति छ । विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोसको सम्पत्ति अमेरिकी कूल गाह्रस्थ उत्पादनको ०.८ प्रतिशत छ । स्मरण रहोस् बिसौँ सताब्दीका अमेरिकी अर्बपति रकेफेलरको सम्पत्ति देशको जिडिपीको १.६ प्रतिशत थियो ।

देशको कूल गाह्रस्थ उत्पादनको अनुपातमा १ प्रतिशत भन्दा धेरै सम्पत्ति आफ्नो भएका अर्बपतिहरुको संख्या विश्वमा कम्तिमा १७ जना छ । त्यसमा स्विडेनदेखि फ्रान्स हुँदै रुस र भारत सम्मका अर्बपतिहरु छन् । मुलुकको कूल गाह्रस्थ उत्पादनको अनुपातमा आफ्नो व्यक्तिगत सम्पत्ति सर्वाधिक भएका व्यक्ति चाहिँ स्पेनी अर्बपति अमान्सियो ओर्टेगा हुन् । उनको कूल सम्पत्ति ७७ अर्ब डलर छ, जुन स्पेनको जिडिपीको ५.३ प्रतिशत हो । त्यस्तै मेक्सिकोका अर्बपति कार्लोस स्लिमसँग पनि देशको कूल गाह्रस्थ उत्पादनको ५.३ प्रतिशत व्यक्तिगत सम्पत्ति छ । स्लिमको कूल सम्पत्ति चाहिँ ६३ अर्ब डलर हो ।

कूल सम्पत्ति १ खर्ब ५० अर्ब डलर भएका फ्रेन्च अर्बपति बर्नार्ड आर्नल्टको सम्पत्ति फ्रान्सको कूल गाह्रस्थ उत्पादनको ५.१ प्रतिशत रहेको छ ।

भारत

भारतका सर्वाधिक धनी व्यक्ति मुकेस अम्बानी यो सूचिमा पाँचौँ नम्बरमा छन् र उनको सम्पत्ति भारतको कूल गाह्रस्थ उत्पादनको २.८ प्रतिशत रहेको छ । त्यस्तै १७ औँ नम्बरमा रहेका गौतम अदानीको सम्पत्ति भारतको कूल गाह्रस्थ उत्पादनको १.७ प्रतिशत रहेको छ ।

मुकेस अम्बानी

देशको कूल गाह्रस्थ उत्पादनको अंकलाई नै अर्बपतिहरुको व्यक्तिगत सम्पत्तिले टक्कर दिने यस्तो अवस्थालाई जर्मनीले चाहिँ साइजमा राखेको पाइन्छ । गत वर्ष जर्मनीमा पनि अर्बपतिहरुको संख्यामा भारी वृद्धि भयो । सन् २०२० मा जर्मनीमा २९ जना अर्बपतिहरु थपिए र कूल अर्बपतिहरुको संख्या १३६ पुग्यो । तर उनीहरुको कूल व्यक्तिगत सम्पत्ति मुलुकको कूल गाह्रस्थ उत्पादनको अनुपातमा विकशित मुलुकहरुमा सबैभन्दा कम छ ।

जर्मनीका सर्वाधिक धनी १० अर्बपतिहरुको सम्पत्ति औषतमा २३ अर्ब डलर मात्र छ, जबकि अमेरिकाका टपटेन अर्बपतिहरुको सम्पत्ति औषतमा १ खर्ब ५ अर्ब डलर छ । जर्मनीका धेरै अर्बपतिहरुको पुस्तौति सम्पत्तिका आधारमा अर्बपति बनेका हुन् । तर पछिल्लो समयमा साना तथा मझौला उद्योग तथा कम्पनीहरुबाट जुन परिवारले सञ्चालन गरेका हुन्छन् त्यसबाट अर्बपति बन्नेहरुको संख्या पनि उल्लेख्य छ । यस्ता उद्योगहरु जर्मनीको उद्योग क्षेत्रका मेरुदण्ड हुनुका साथै राष्ट्रिय गौरवको रुपमा पनि रहेको छ ।

जर्मनीमा अमेरिकामा जस्तो अर्बपति विरोधी आन्दोलन पनि छैन । र, अमेरिकामै पनि कतिपय असल अर्बपतिहरुको बँचेखुसेको लोकप्रियताका कारण अर्बपति विरुद्धको आम विरोधलाई केही हदसम्म साँघुराइदिएको छ ।

धेरै युवापुस्ताले एलन मस्कजस्ता कतिपय अर्बपतिहरुलाई दूरदर्शी नायकको रुपमा हेर्दछन् जसले हामीलाई विश्व उष्णीकरणबाट बचाउनका लागि ब्याट्रीमा आधारित अर्थतन्त्रको निर्माण गरिरहेका छन् । उनका ५ करोड ३० लाख ट्वीटर प्रयोगकर्तालाई यो पनि थाहा छ कि अघिल्लो वर्षमात्रै उनको सम्पत्ति ६ गुणाले बढ्यो ।

हालसम्म प्रविधि र निर्माण जस्ता उत्पादनशील उद्योगबाट आफ्नै बलबुतामा अर्बपति बनेकाहरुले सबैभन्दा ठूलो लाभ लिन सकेका छन् ।

पछिल्लो समय मुलुकको कूल सम्पत्तिको अनुपातमा आफ्नो व्यक्तिगत सम्पत्ति अत्यधिक हुने अर्बपतिहरु अर्थात् रकेफेलर्सको मुलुकको रुपमा स्थापित बनिरहेको स्विडेन देखि फ्रान्ससम्म अर्बपतिहरुको सम्पत्तिमा असल उद्योगको हिस्सा कम छ अनि पुस्तौनि सम्पत्तिको हिस्सा धेरै छ । त्यस्तै पछिल्लो समयमा रियल स्टेट क्षेत्रले फड्को मारिरहँदा बेलायत तथा अष्ट्रेलियामा पनि ब्याड बिलेनियरहरुको संख्या उच्च बनिरहेको छ ।

तथ्यांक अनुसार पुस्तौनि सम्पत्तिबाट अर्बपति बनेकाहरुको संख्याका आधारमा फ्रान्स पहिलो नम्बरमा रहँदा जर्मनी दोश्रो, इण्डोनेसिया तेश्रो, स्विडेन चौथो, इटाली पाँचौँ र भारत छैटौँ स्थानमा छन् ।

त्यस्तै खराब क्षेत्र (प्रदूषणजन्य तथा भ्रष्टाचारको अत्यधिक सम्भावना भएका उर्जा, खानी, रियल स्टेट, क्यासिनो) जस्ता क्षेत्रका अर्बपतिहरु अर्थात् ब्याड बिलेनियरको संख्याका आधारमा मेक्सिको पहिलो स्थानमा छ भने रुस दोश्रो, अष्ट्रेलिया तेश्रो, बेलायत चौथो, चीन पाँचौ र स्पेन छैटौँ स्थानमा छ ।

त्यस्तै असल क्षेत्र भनिने निर्माण तथा प्रविधिजन्य क्षेत्रका अर्बपतिहरु अर्थात् गुड बिलेनियर धेरै रहेको मुलुकमा पहिलो स्थानमा ताइवान रहँदा चीन दोश्रो, दक्षिण कोरिया तेश्रो, इण्डोनेसिया चौथो, अमेरिका पाँचौँ र अष्ट्रेलिया छैटौँ स्थानमा रहेका छन् ।

महामारीले चलायमान रहेका अर्थतन्त्रका कतिपय क्षेत्र तथा सामाजिक प्रवृत्तिलाई समेत गति प्रदान गर्यो । अर्बपति वर्ग कीर्तिमानी गतिमा विस्तार भयो जसले अथाह सम्पत्ति विरोधी अभिमतको खतरा पनि बढायो ।

धनी देशहरुमा यस्ता अभिमतहरु खासगरी करको माध्यमबाटै धनाढ्यहरुको सम्पत्तिमा लगाम लगाउने विषयमा केन्द्रित छन्, जसले बजारको आधारभूत परिचालक तथा अर्बपतिहरुको तीव्र विकास अर्थात् बिलेनियर बूमको खास कारणको रुपमा रहेको केन्द्रिय बैंकबाट सहज रुपमा पैसा खन्याउने कुरालाई सम्बोधन गर्दैन ।

सामाजिक कार्यक्रममा हुने खर्चका लागि आवश्यक रकमको जोहो गर्न इजी मनी भनिने गलत तरिकाबाट वा कुनै कठिनाइ विना नै हात पार्ने रकम करको उच्च दर जत्तिकै लोकप्रिय छ । त्यस्तैले यस्तो मौद्रिक छिद्र बन्द नगरेसम्म विद्यमान सम्पत्तिमा रहेको असमानता झनै बढ्ने देखिन्छ ।

भविष्यमा अर्बपतिहरुले सम्पत्ति कमाउने विषयप्रति आम मानिसहरुको धारणा कस्तो रहन्छ भन्ने कुरा नयाँ अर्बपतिहरुको सिर्जना अब कसरी हुन्छ भन्ने कुरामा निर्भर रहनेछ । हालसम्म प्रविधि र निर्माण जस्ता उत्पादनशील उद्योगबाट आफ्नै बलबुतामा अर्बपति बनेकाहरुले सबैभन्दा ठूलो लाभ लिन सकेका छन् ।

यस्ता गुड बिलेनियरहरुका लागि रहेको अनुकुल समयले सम्पत्तिको असमानता विरुद्धमा रहेको आम आक्रोस मथ्थर पार्न सहयोग गर्नेछ । तथापि अर्बपतिहरुको बढ्दो सूचिलाई चाहिँ खतराको संकेतको रुपमा हेर्नुपर्दछ ।

(मोर्गान स्टान्ली इन्भेस्टमेन्ट म्यानेजमेन्ट कम्पनीका प्रमुख विश्व रणनीतिकार रुचिर शर्माको यो आलेख फाइनान्सियल टाइम्सबाट भावानुवाद गरिएको हो ।)