प्रधानमन्त्री तथा अध्यक्ष ओलीद्धारा नेता माधव कुमार नेपालप्रति अशोभनीय टिप्पणी ःमाधव नेपाल जत्तिको अरुको पुच्छर, लाजसरम पचेको, अराजक, अनुशासनहीन र इमान नभएको

१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबारे अशोभनीय टिप्पणी गरेका छन् । प्रचण्डको पुच्छर, लाजसरम पचेको, अराजक, अनुशासनहीन र इमान नभएको भन्दै ओलीले नेपालको आलोचना गरेका हुन् ।

७०औं मदन भण्डारी जयन्तीको अवसरमा आज बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘मैले भनेको थिएँ, माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हुन् । तर धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो १ मलाई बहुला कुकुरले टोकेको छ र ?
अध्यक्ष ओलीले अगाडी भने, अरु कोही नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्री प्रस्ताव केपी ओलीले राख्ला ?’

नेता नेपालले अहिले अध्यक्ष, त कहिले प्रधानमन्त्रीको प्रस्ताव राखेको भन्ने प्रचार गर्दै हिँडेको भन्दै एमाले अध्यक्ष ओली भने, ‘यिनी एक ढंगले भन्ने हो भने प्रचण्डका पुच्छर हुन् । पुच्छर भएपछि जन्तु पूर्वतिर फर्कियो भने त्यो पश्चिमतिर हुन्छ, पश्चिमतिर फर्कियो भने त्यो पूर्वतिर हुन्छ । तर सँगै हुन्छ ।’ प्रचण्ड कांग्रेसतिर लागेपछि माधव नेपाल पछिपछि लागेको उनको टिप्पणी थियो ।

एमालेको वरिष्ठ नेता भन्ने, तर एमाले ध्वस्त पारेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागेको उनले बताए । राजनीतिका नाममा यस्तो अराजकता दुनियाँको कहीं नहुने भन्दै एमाले अध्यक्ष ओलीले माधव नेपाल जत्तिको अराजक, अनुशासनहीन र इमान नभएको मान्छे अर्को नभएको टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीले नेता नेपालमाथि मदन भण्डारीको इतिहास मेटाउन खोजेको आरोप लगाएका छन् । जिन्दगीभर मदन भण्डारीको विरोध गरेका उनले सोमबार जन्मजयन्तीको सन्दर्भमा वक्तव्य दिएको भन्दै ओलीले भने, वेसरमको पनि हद हुन्छ नि ’

२०६३ जेठ १ गते छलफल पत्रिकामा मदन भण्डारीबारे प्रकाशित माधव नेपालको लेखमा ‘हिमाल टाढाबाट हेर्दा राम्रो हुन्छ, कस्तो छ भन्ने नजिकै बस्नेलाई थाहा हुन्छ,’ ‘मदनका राम्रा–राम्रा कुरा मात्र गर्ने, कमीकमजोरीको चर्चा खोइ ?’ भनेको पढेपछि आफूले दृष्टिमा खण्डन छपाएको उनले स्मरण गरे ।

मदन भण्डारीका लेख प्रकाशित गरेकै कारण मदन–आश्रित फाउण्डसेनका अध्यक्ष बाचश्पति देवकोटालाई हटाएको, दासढुंगा दुर्घटनामा प्रयोग भएको गाडी संरक्षण गरौं भन्दा हतारहतार बनाएर प्रयोगमा ल्याउन खोजेको समेत उनको आरोप लगाएका छन् ।