यो अभियानमा माधव नेपाल मात्रै होइन, अरु नेताहरु पनि आउन सक्नुहुन्छ नि

नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत), अध्यक्ष, जीवन राई

११ असार, काठमाडौं । अखिलका पूर्वनेता जीवन राईको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) दर्ता भएको छ । राई एमालेकै बरिष्ठ नेता माधवकुमार नेपाल समर्थक रहेकाले नयाँ पार्टीबारे विभिन्न अड्कलबाजी भइरहेको छ ।

अध्यक्ष राई भने माधव नेपालसँग सल्लाह गरेर पार्टी दर्ता नगरेको बताउँछन् । तर आफ्नो पार्टीमा माधव नेपाल आवद्ध हुनसक्ने उनी बताउँछन् । उनी भन्छन्, ‘यो अभियानमा माधव नेपाल मात्रै होइन, अरु नेताहरु पनि आउन सक्नुहुन्छ
नि ।’

राईसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानीः

तपाईं अध्यक्ष रहेर दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत)लाई नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग प्रचार भइरहेको छ । माधव नेपाल र तपाईंको सम्बन्ध के हो ?

म अनेरास्ववियुमा रहँदा माधवकुमार नेपाल नेकपा एमालेको नेता हो । उहाँसँग राम्रो सम्बन्ध थियो । त्यसैले यस्ता अड्कलबाजी हुनु स्वाभाविक हो । नेकपा एमालेमा सबै नेतासँग राम्रो सम्बन्ध हो । तर पार्टी दर्ताको विषयमा कुनै साइनो र सम्बन्ध छैन ।

सम्बन्ध थियो कि छ ?

पहिले म नेकपा एमालेमा हुँदा सम्बन्ध थियो । अहिले पार्टी छोडेपछि छ भन्न मिलेन नि । छोडिसकेकाले थियो ।

तर तपाईंलाई त माधवकुमार नेपालले पार्टी दर्ता गराउन लगाउनुभएको भन्ने छ । जुन दिन एमाले फुटाउनु हुन्छ, त्यस दिन माधव नेपालकै लागि हो यो पार्टी ?

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) भनेर दल दर्ता गरेका छौं । माधवकुमार नेपाल मात्रै होइन, अरु पनि आउन सक्नु
हुन्छ । अभियान चलाउँदै जाँदा जो पनि नेताहरु जोडिन सक्नुहुन्छ । नेताहरू कुनैपनि पार्टीमा आउनेजाने भइरहन्छ नि ।

एमाले फुटिहाल्यो भने चुनावमा जान पार्टी त चाहियो । अहिले नै दर्ता गराउनुहोस् है भनेर माधव नेपालले भनेको त होइन ?

त्यस्तो अनुमानमा कुनै सत्यता छैन ।

अघिल्लो वर्ष केपी ओली संकटमा पर्दा नेकपा एमाले दर्ता भयो, डाँडामाथि उदाउँदो सूर्य सहितको । अहिले एमालेभित्र विवाद चलिरहँदा चुनाव चिह्न कलम लिएर पार्टी दर्ता गराउनुभयो । अस्ति भर्खर माधव नेपालका उम्मेद्वारले यही चिन्ह लिएर राष्ट्रियसभा उपनिर्वाचन लडेको हैन र ?

संयोग मात्रै हो । कलम चिह्न भएको कुनै पार्टी थिएन । स्वतन्त्र उम्मेद्वारलाई चिह्न चाहिने भएकाले लिनुभयो होला । अहिले यो चिह्न हाम्रो पार्टीको हो ।

त्यसोभए पार्टी दर्ताचाहिँ केका लागि गर्नुभएको त ?

कम्युनिष्ट पार्टीप्रति मानिसको आकर्षण छ । र, कम्युनिष्ट पार्टी आवश्यक छ । तर भइरहेको कम्युनिष्ट पार्टीहरुमा विवाद र टुटफुट भइरहेको छ । त्यसैले सबै कम्युनिष्ट पार्टीलाई एकीकृत गर्नलाई यो अभियान शुरु गरेका हौं । अहिले तत्काल भन्न सकिन्न । तर भविष्यमा दुई पार्टीकै अस्तित्व हुनेवाला छ, एउटा कम्युनिष्टहरुको र अर्को गैरकम्युनिष्टको । त्यसैले हामीले यो अभियान शुरु गरेको हो ।

त्यसोभए माधवकुमार नेपाललाई अप्ठ्यारोमा पार्नुभएछ त ! माधव नेपालले नै दर्ता गराउन लगाएको पार्टी भनेर प्रचार भइरहेको छ ?

सबैले देखेका छन्, एमालेभित्र विवाद छ । अब माधव नेपाललाई कमजोर पार्न चाहनेहरुले मेरो पार्टीसँग जोडे होलान्
नि । राजनीतिमा नेताहरुले अर्कालाई कमजोर पार्न यस्ता गर्छन् नि । माधव नेपालको अरू कमजोरी नदेखेर यस्तो प्रचार गरेका होलान् । तर यस्तो आरोपले माधव नेपाललाई कमजोर बनाउनुपर्ने कारण नै छैन । बरु, आरोप स्थापित हुँदा त झन् व्यवस्थित ढंगले अगाडि बढेका रहेछन् भन्ने पो देखिन्छ त ।

व्यवस्थित कसरी ?

उहाँले पार्टीभित्र संघर्ष गरिरहनुभएको छ । कुनै कमजोरी नभेटेपछि अरू कसैको पार्टीसँग जोडेर आरोप लगाइरहेका छन् । तर यो पार्टी त मेरो हो । अभियान मैले चलाउने हो । श्रमजिवी, किसान र मजदुर वर्गको हितका निम्ति काम गर्ने
हो । अनि, माधव नेपालको कमजोरी नभेट्नेहरुले मेरो पार्टीसँग जोडेर आरोप लगाएका होलान् ।

यति धेरै पार्टी छन् । माधव नेपालका लागि होइन भने किन चाहिएको त अर्को पार्टी ?

निर्वाचन आयोगमा हाम्रो दर्ता नम्बर १६३ हो । थुप्रै पार्टी दर्ता छन् भने कति खारेज भएका छन् । तर स्वाभाविक रुपमा पुरानो पार्टीहरुले मुलुक र जनताको हितमा काम गर्न नसकेको भनेर युवाहरु निराश छन् । त्यो युवा पंक्ति र आममानिसलाई सहभागी गराएर अगाडि बढ्ने हो । यो पार्टी हामी नयाँ ढंगले चलाउछौं । मुख्यगरी हाम्रो पार्टीले सहभागितामुलक प्रणाली अपनाउँछौं ।

हाम्रो प्रमुख एजेण्डा पूर्ण समानुपातिक निर्वाचन प्रणाली हो । अबको २० वर्षपछि पुरानो दल र उम्मेद्वारहरु पनि अहिलेको जस्तो निर्वाचन प्रणालीमा टिक्न सक्दैनन् । खर्च र प्रवृत्तिका कारण पनि अहिलेको निर्वाचन प्रणाली लामो समय चल्दैन ।

पार्टीले भोलि कस्तो एजेण्डा लिन्छ भन्ने कुरा तपशीलका विषय हुन् । अहिले पार्टी स्थापनाको औचित्यबारे थप प्रष्ट पार्न आवश्यक होला । एमालेमा भूमिका नपाएकाहरुको मात्रै पार्टी हो त यो ?

पार्टी दर्ता स्वतन्त्र मानिसहरुले गर्ने हो, कुनै दलमा आवद्ध नभएकाहरुले । तर भूमिकाविहीनहरुले खोलेको भनेर बुझन् हुन्न । यसको औचित्य र उद्देश्य माथि भनिसकें नि ।

त्यसो भए समयान्तरमा यो पार्टी माधव नेपालकै हुन्न ?

मैले भनिसकेँ नि । यो पार्टी भनेको अभियानमा हो । यो अभियानमा माधव नेपाल मात्रै होइन, अरु नेताहरु पनि आउन सक्नुहुन्छ नि । भोलि चित्रबहादुर केसी आउन सक्नु होला, मोहन वैद्य आउन सक्नुहोला, अरु कम्युनिष्ट घटकहरु पनि आउनु होला नि । कुनै नेताहरुको नाम मात्रै किन लिने ? नेपालमा कम्युनिष्ट पार्टीहरु थुप्रै छन्, अब एकीकृत हुनुको विकल्प छैन । तर माधव नेपालका लागि पार्टी दर्ता भएको भनेर प्रचार गरिनुको अर्थ छैन ।

अनलाईनखबरबाट