माधवकुमार नेपालद्धारा अध्यक्ष केपी शर्मा ओलीमाथि पार्टी एकता भंग गर्न खोजेको आरोप

७ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीमाथि पार्टी एकता भंग गर्न खोजेको आरोप लगाएका छन् ।

नेपालले सामाजिक संजाल फेसबुकबाट प्रतिक्रिया दिने क्रममा भनेका छन्, कर्णाली प्रदेशका चार सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध भ्याकेटमा गएकामा उनले असन्तुष्टि जनाएका हुन् ।

‘कर्णाली प्रदेशका संसद्हरुमाथि विधान विपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ’ उनले भनेका छन् ।

कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिने सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई एमालेको १० औं राष्ट्रिय महाधिवेशन आयोजक समितिले निष्कासनको कारबाही गरेको थियो ।

तर सर्वोच्च अदालतले एमालेको १० औं महाधिवेशन आयोजक समितिले गरेको कारबाही वैध नहुने भन्दै सांसदहरुलाई पुनर्वहाली गरिदिएको थियो । उक्त आदेशविरुद्ध सोमबार एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चमा पुनरावलोकन निवेदन दिएका थिए ।

नेता नेपालले यस्तो निवेदनले पार्टी एकता भंग गर्ने आरोप लगाएका हुन् । उनले आफूहरु जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको भन्दै विरोध जनाएका छन् ।

नेपालले प्रधानमन्त्री ओलीमाथि सत्ता जोगाउन संविधान विरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गरेको आरोप पनि लगाएका छन् । ‘सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ – सहजै देख्न सकिन्छ ।