युरोकप २०२० अन्तर्र्गत आज देखि समूह चरणका अन्तिम खेलहरु : इटली-वेल्स/टर्की-स्विट्जरल्याण्ड

६ असार काठमाडौं । युरोकप २०२० अन्तर्र्गतआज देखि समूह चरणका अन्तिम खेलहरु सुरु हुनेछन् । म्याचडे थ्री अन्तर्गत आज समूह ए का दुई खेल हुनेछन् । जसमा इटलीले घरेलु मैदानमा वेल्ससँग खेल्नेछ भने टर्की र स्विट्जरल्याण्डबीचको खेल बाकुमा हुनेछ । दुवै खेल एउटै समय अर्थात राति ९स्४५ बजे सुरु हुनेछ।

इटलीले यसअघि नै नकआउट चरणमा स्थान पक्का गरिसकेको छ । वेल्सविरुद्ध जित वा बराबरीले इटली समूह विजेता बन्नेछ । यस्तै बराबरीले वेल्सलाई पनि नकआउट चरणमा पुर्‍याउनेछ तर इटलीविरुद्ध जित हात पारे वेल्स समूह विजेता बन्नेछ।

उता वेल्सले पहिलो खेलमा स्वीट्जरल्याण्डसँग १(१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा टर्कीलाई ३(० ले हराएको थियो । वेल्स इटलीसँग पराजित भए पनि अर्को खेलमा स्विट्जरल्याण्डले टर्कीलाई हराउन नसके वेल्स समूह उप विजेता बन्नेछ ।

सन् २०१६ मा डेब्यु गर्दै सेमिफाइनलसम्म पुगेको वेल्स यस पटक पनि त्यहो उपलब्धि दोहोर्‍याउने लक्ष्यमा छ।

इटली र वेल्स ठूलो प्रतियोगितामा पहिलो पटक भिड्न लागेका हुन । यसअघि यी दुईबीच ९ खेल हुँदा इटलीले ७ खेल जितेको छ भने वेल्सले २ खेल जितेको छ।

अर्कोतर्फ बाकु ओलम्पिक स्टेडियममा भिड्दा स्विट्जरल्याण्ड र टर्की निश्चित जितका लागि खेल्नेछन् । स्विट्जरल्याण्डको २ खेलबाट जम्मा १ अंक छ भने टर्की अंकविहीन छ ।

त्यसैले अगाडिको यात्रा तय गर्न जितको विकल्प छैन । स्वीट्जरल्याण्डले टर्कीलाई हराउन सके र वेल्स इटलीसँग पराजित भए स्वीट्जरल्याण्ड समूह उपविजेता बन्नेछ । यदी स्विट्जरल्याण्डले खेल जितेमा अनि वेल्सले इटलीसंँग जित वा बराबरी खेलेमा स्विट्जरल्याण्डले तेस्रो हुनेमध्ये उत्कृष्ट हुँदै नकआउट राउण्ड पुग्नेछ ।

उता टर्कीको लागि झिनो सम्भावना कायम राख्न स्वीट्जरल्याण्डलाई हराउनै पर्नेछ । जसले टर्कीको ३ अंक हुनेछ र अगाडिको यात्रा तेस्रो हुने टिमहरुको अंकको आधारमा छिनोफानो हुनेछ।

समग्रमा अहिलेसम्म १५ खेल हुँदा टर्कीले ८ खेल जितेको छ । स्विट्जरल्याण्डले ४ खेल जित्दा ३ खेल बराबरी भएको थियो ।