आँपका बोटलाई सुरक्षा दिन ६ कुकुर र चार गार्ड

एजेन्सी

भारतको मध्यप्रदेशस्थित जबलपुरका एक जोडीले दुई वर्षअघि आफ्नो बगैंचामा आँपका बोट रोपेका थिए। संकल्प परिहर र रानी परिहर दम्पतीले बगैंचामा अरू रूख रोप्दा आँप पनि लगाएका थिए।

त्यतिबेला उनीहरूले आफूले रोपेका आँपका बोट पनि भारतमा भएका अरू आँपजस्तै फल लाग्छ होला भन्ने ठानेका थिए।

जब ती बोटमा गत वर्ष आँप फले ती हरिया थिएनन्  न त पाकेपछि पँहेला भए। ती दुई बोटमा फलेका आँप रूबी रङका थिए। अनौठा आँप फलेपछि परिहर दम्पती चकित परे।

उनीहरूले आँप किन र कसरी रूबी रङको भयो भन्नेबारे बुझ्दै गएपछि  थाहा पाए- उनीहरूको बगैंचामा भएको आँप मियाजाकी प्रजातिको हो। जापानको मियाजाकी शहरको नामबाट यसको नाम राखिएको हो।

मियाजाकी विश्वमै सबैभन्दा महंगो आँपमध्ये एक हो। अन्तर्राष्ट्रिय बजारमा गत वर्षमात्रै किलोको दुई लाख ७० हजार भारतीय रुपैयाँमा बिकेको थियो।

परिहर दम्पतीको बगैंचामा दुर्लभ र महंगो आँप फलेको थाहा पाएपछि गत वर्ष चोरी पनि भएको थियो।

आँपहरू चोरी भए पनि उनीहरूले रूख भने जोगाउन सफल भएका थिए। त्यसरी नै फेरि चोरी हुने डरमा छन् परिहर दम्पती।

आफ्ना महंगा र दुर्लभ आँप चोरी हुनबाट जोगाउन उनीहरूले सुरक्षा दिएका छन्। दम्पतीले आँप जोगाउन चार जना सुरक्षा गार्ड खटाएका छन् भने ६ वटा कुकुर पनि पालेका छन्। यो खालको आँप भारतमा बिरलै पाइने हिन्दुस्तान टाइम्सले जनाएको छ। मियाजाकी आँपलाई सूर्यको अण्डा पनि भनिन्छ।

दुई वर्षअघि रेलबाट चेन्नई जाँदै गर्दा परिहरले एक जना मान्छेलाई भेटेका थिए। जसले परिहरलाई ती आँपका बोट दिएका थिए।

‘उनले मलाई यो बोट रोप्ने हो त भनेर प्रस्ताव राखेका थिए। उनले बोटलाई आफ्नै बालबच्चा जसरी ख्याल राख्न भनेका थिए। बोटमा कस्तो खालको आँप फल्छ भन्ने थाहै नपाई हामीले बगैंचामा रोप्यौं,’ उनले भने,’गत वर्ष रूखमा आँप फल्न थाल्यो। तर धेरै फरक खालको फल्यो।’

उनीहरूलाई आफ्नो बगैंचामा रोपेको आँप कुन प्रजातिको भन्ने पनि थाहा थिएन। आँपलाई संकल्प परिहरले आफ्नै आमाको नाम राखिदिएका थिए।

‘मलाई आँप कुन प्रजातिको हो भन्ने थाहा थिएन, मैले फललाई मेरी आमा दामिनीको नाम राखिदिएँ। पछि हामीले यसबारे खोजी गर्दा वास्तविक नाम थाहा पायौं। तर मेरा लागि यो अहिले पनि दामिनी नै हो,’ संकल्प परिहरले भने।

उनीहरूले जापानी प्रजातिको आँप रोपेको थाहा पाएपछि धेरैले उनीहरूलाई सम्पर्क गरेका छन्। व्यापारी र फलका पारखीहरूले उनीहरूलाई सम्पर्क गरेर एउटै आँपको २१ हजार भारूसम्ममा किन्न खोजेको रानी परिहरले बताएकी छन्। कतिपय त उनीहरूले भनेकै मूल्यमा पनि किन्न तयार भएका छन्।

तर दम्पतीले आँप बेच्ने सोचेका छैनन्।

‘मुम्बईका एक ज्वेलरले हामीले भनेकै मूल्यमा किन्ने भनेका छन्। तर मैले प्रस्टसँगै भनिदिएकी छु- म यो कसैलाई पनि बेच्दिनँ। हामी यो फल धेरै आँपका बोट बनाउन प्रयोग गर्छौं,’ रानी परिहरले भनिन्।

मध्यप्रदेश हर्टिकल्चर विभागका निर्देशक आरएस कटाराले पनि बगैंचाको अनुगमन गरेका थिए। उनले अनुगमन गरेर यो खालको आँप भारतमा दुर्लभ भएको बताए।

‘यो धेरै महंगो छ किनकी यसको उत्पादन थोरै छ र यसको स्वाद धेरै गुलियो छ। यो धेरै नै फरक देखिन्छ। विदेशमा मानिसहरूले यसलाई उपहारको रूपमा दिन्छन्,’ उनले भने। उनले अरू किसानहरूलाई पनि रोप्न प्रोत्साहन गर्नुअघि फेरि एक पटक निरीक्षण गर्ने बताएका छन्।

जवलपुरको जवाहरलाल नेहरू कृषि विश्वविद्यालयका वैज्ञानिकले यस आँपको अध्ययन गर्ने सोचिरहेका छन्। विश्वविद्यालयका रजिष्ट्रार रेवासिंह सिसोदियाले मियाजाकी आँपबारे अध्ययन गर्ने योजना भएको बताए।