मेरो सरकारलाई ४५ जना सांसदको समर्थन रहेको छ

मुख्यमन्त्री शंकर पोखरेल

३० जेठ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाको बहुमत सदस्यको समर्थन आफू नेतृत्वको सरकारलाई रहेको दाबी गरेका छन् । विपक्षी दलहरुले मुख्यमन्त्रीले बहुमत गुमाएको भनी सिद्ध गर्न चुनौती दिइरहेका बेला अज प्रदेशसभा बैठकमा बोल्दै उनले सरकारको पक्षमा नेकपा एमालेका ३९ जना र जनता समाजवादीका ६ जना गरी ४५ जना सांसदको समर्थन रहेको दाबी गरे ।\

‘कतिपय माननीयहरुले सरकारलाई बहुमत छैन भन्नुभएको छ, यो सरकारका पक्षमा ४५ जना सांसद हुनुहुन्छ,’ मुख्यमन्त्रीले भने, ‘विमलाजीको दल परिवर्तन गर्न मिल्दैन । जनता समाजवादीका ४ जना सरकारमै हुनुहुन्छ । राजनीतिक बहुमत यही हो ।’

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीबाट उपनिर्वाचन जितेकी विमला खत्री वलीले वैशाख १८ गते नै माओवादी केन्द्र रोजेकी थिइन् । तर मुख्यमन्त्री पोखरेलले उनलाई एमाले सांसदकै रुपमा गणना गरेका छन् ।

८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४२ सांसदको समर्थन आवश्यक पर्छ ।

मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टी संसदीय दलमा बहुमतले निर्णय हुन दिनुपर्ने बताए । ‘बहुमतको निर्णय मान्नुपर्छ भन्ने हो, ४ जना सदस्यले मानेको कुरालाई मानेर जाउँ भन्ने हाम्रो कुरा हो,’ उनले भने, ‘दल विभाजित पनि नहुने, एक पनि नहुने हुँदा उपधारा २ कार्यान्वयन हुन सक्दैन, प्रदेशसभा सचिवालयले दलका विषयमा अन्योल प्रष्ट पार्नुपर्छ ।’

नीति तथा कार्यक्रम बहुमतले पारित

प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

जेठ २५ गते प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम पेश गर्दा विपक्षी सांसदहरुले बहिष्कार गरे पनि छलफलमा भाग लिएका थिए । छलफलका क्रममा विपक्षी दलका सांसदहरुले सरकारको वैधानिकतामाथि नै प्रश्न उठाउँदै नीति तथा कार्यक्रमको आलोचना गरेका थिए ।

आइतबार मुख्यमन्त्री पोखरेलले संसदमा उठेका प्रश्नहरुको जवाफ दिएपछि निर्णयार्थ प्रेश हुँदा बहुमतले नीति तथा कार्यक्रम पारित भएको छ । विपक्षी दलका सांसदहरुले नीति तथा कार्यक्रम पारित होस् भन्ने मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा मत जाहेर गरेका थिए । जनता समाजवादी पार्टीले विपक्षमा मतदान गर्न ह्वीप नै जारी गरेको थियो । मत विभाजन नगरिएकाले नीति तथा कार्यक्रमको पक्ष र विपक्षमा कति कति मत खस्यो भन्ने गणना भएन ।