सेयर कारोबारमा (एओेएन) को चलखेल भएको भन्दै बन्द गर्न निर्देशन

३० जेठ काठमाडौं । अनलाइनबाट सेयर खरिदबिक्री गर्न सकिने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमसएस) मा हुने ‘अल अर नन’ (एओेएन) को दुरुपयोग गरी हुने गरेको चलखेल रोक्न नेपाल स्टक एक्सचेन्जले नयाँ व्यवस्था लागू गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार नेपाल स्टक एक्सचेञ्जले आजदेखि लागू हुने गरी आईओएन नै रोक्का गर्ने भएको हो । ठूला लगानीकर्ताहरुले टीएमएसमा कृत्रिम खरिद तथा बिक्री चाप देखाई चलखेल गर्ने गरेको बोर्डको निष्कर्ष छ ।

कृषिमा अर्डर देखाएर सेयर मूल्य घटबढ गराउन खोजिएको जस्तो देखिएकाले कारोबार सम्बन्धी विद्यमान व्यवस्थामा केहि फेरबदल गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए । उनका अनुसार नेप्सेलाई भोलिदेखि नै लागू हुने गरी निर्देशन दिइएको छ ।

यो सिस्टम भनेको लगानीकर्तालाई चाहिए जति पाएमात्रै किन्न वा बेच्न सहज होस् भनेर बनाइएको सिस्टम हो ।
मानौं, तपाईले कुनै कम्पनीको २ सय रुपैयाँ दरमा एक हजार कित्ता सेयर किन्न अर्डरमा बस्नु भयो । सोही मूल्यमा अर्को एक हजार कित्ता बेच्ने मान्छे आयो भने मात्रै कारोबार हुन्छ ।

तपाईंले तोकेको मूल्यमा अर्को व्यक्ति बेच्न बसेको छ तर एक हजार कित्ता भन्दा एक कित्ता तल भए पनि कारोबार हुँदैन । खरिदमा जस्तै बिक्रीमा पनि सोहि व्यवस्था लागू हुन्छ ।
यसरी खरिद वा बिक्रीमा कृत्रिम धेरै चाप देखाउँदा सोझा लगानीकर्ताहरु झुक्किने र फस्ने खतरा हुन्छ । यसकारण विद्यमान उक्त व्यवस्थालाई फेरबदल गरी एक हजार कित्ता अर्डरमा बसे पनि त्यो भन्दा थोरै कित्ता आउँदा समेत कारोबार हुनसक्ने गरी बोर्डले निर्देशन दिएको जानकारी गराए ।

नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले बोर्डको निर्देशन कार्यान्वयन हुने बताए । अहिलेको व्यवस्थाले सक्रिय र पुराना लगानीकर्ताहरु नझुक्किए पनि नयाँ लगानीकर्ताहरु भने झुक्किन सक्ने खतरा भन्दै उनले नयाँ व्यवस्था पछि केहि सहज हुने बताए ।