फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंको गालामा थप्पड हान्ने युवकलाई अदालतले चार महिना जेल सजाय

एजेन्सी

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंको गालामा थप्पड हान्ने युवकलाई अदालतले चार महिना जेल सजाय सुनाएको छ।

२८ वर्षीय दामियन तारेलले मंगलबार एक सार्वजनिक समारोहमा राष्ट्रपति म्याक्रोंको गालामा थप्पड हानेका थिए। थप्पड हान्नासाथ सुरक्षाकर्मीले उनलाई पक्राउ गरेका थिए।

भ्यालेन्सको एक अदालतले बिहीबार उनलाई सार्वजनिक पदमा रहेका व्यक्तिविरूद्ध  हिंसा गरेको अभियोगमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो।

सुनुवाइका क्रममा तारेलले आफूलाई  म्याक्रोंका कारण फ्रान्स उधो गतितिर गइरहेको लाग्ने बताएका छन्। साथीहरूसँग आफूले म्याक्रोंलाई अन्डा र क्रिमले हान्ने योजना बनाएको भए पनि त्यो रोकिएको उनले बताए। थप्पड हान्ने कुराचाहिँ पूर्वयोजना नभएको उनले बताएका छन्।

ती युवकले थप्पड हानेको केहीबेरपछि राष्ट्रपति म्याक्रोंले आममानिसलाई भेट्ने कुरालाई निरन्तरता दिएका थिए। आफूलाई यस्ता कुराले केही फरक नपर्ने म्याक्रोंको भनाइ थियो।

उनले कोही व्यक्तिले यस्तो हिंसात्मक कुरा गर्न सक्ने भन्दै त्यस्ता व्यक्तिलाई सार्वजनिक बहसमा कुनै स्थान दिनु नहुने बताए।

म्याक्रोंमाथि थप्पड हानिएको घटनाको फ्रान्सका राजनीतिज्ञहरूले निन्दा गरेका छन्।