विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दै

२८ जेठ, काठमाडौं । विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ ।

कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति ९ः ४५ बजे सुरु हुनेछ । कोरोना महामारीपछि बाँकी ३ खेल खेल्न कुवेत पुगेको नेपालले यसअघि चाइनिज ताइपेईलाई २(० ले हराएको थियो भने जवर्डनसंग ३(० ले पराजित भएको
थियो ।

समूह बी मा रहेको नेपाल यसअघि नै विश्वकप छनोटबाट बाहिरिसकेको छ भने एसिया कपको अर्को चरणका पुग्नका लागि पनि अब प्लेअफको सहायता लिनुपर्ने अवस्था बनेको छ ।

यदी नेपालले अष्ट्रेलियालाई हराएमा र अन्य समूहका टिमहरुको नतिजा पनि नेपाल अनुकुल आएमा मात्र नेपाल समूहमा चौथो हुनेमध्ये उत्कृष्ट चारमा पर्दै एसिया कप छनोटको तेस्रो चरण पुग्नेछ । यो समीकरण लगभग असम्भव जस्तै रहेकोले नेपालले एसिया कपको तेस्रो चरणमा खेल्नका लागि अब प्लेअफ नै खेल्नुपर्नेछ ।

समूह चरणमा ७ खेल खेलिसकेको नेपालले दुई जित र ५ खेलमा हारको नतिजासहित ६ अंक जोडेको छ ।

नेपालले यसअघि विश्वकप छनोटमै २०१९ मा अष्ट्रेलियासँग खेलेको थियो । क्यानबेरामा भएको उक्त खेलमा नेपाल ५(० ले पराजित भएको थियो ।

नेपालका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नतिजाभन्दा पनि प्रदर्शनमा जोड दिने बताएका छन् । बिहीबार भएको प्रिम्याच कन्फ्रेन्समा उनले अष्ट्रेलिया विरुद्ध राम्रो प्रदर्शन गर्ने आशा राखेका छन् । ‘हामीले अर्को राम्रो खेल खेल्नुपर्ने छ । हाम्रो लक्ष्य नतिजा भन्दा पनि राम्रो खेल खेल्ने हो ।

उनले नेपालको खेल्ने शैली परिवर्तन भएको र त्यसको नतिजा पनि देखिन थालेको बताए । अष्ट्रेलियाका प्रशिक्षक ग्रेहम आर्नोल्डले समेत नेपाली टिमको खेल्ने शैली परिवर्तन भएको र मिहेनती टिम भएको प्रतिक्रिया दिएका थिए ।

प्रशिक्षक अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नेपालका युवा खेलाडीहरुले डेब्यु गर्न सक्ने सम्भावना रहेको समेत बनाए । अहिले नेपाली टिममा रहेका ६ नयाँ खेलाडी मध्ये दुई खेलाडीले इराकविरुद्ध मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए । मिडफिल्डर मनिस डाँगी र डिफेण्डर गौतम श्रेष्ठले इराकविरुद्ध पहिलो रोजाइमै खेलेका थिए । मनिसले त्यसपछि छनोटका दुवै खेल खेले भने गौतमले चाइनिज ताइपेईविरुद्ध मात्र खेलेका थिए ।

यस बाहेक नयाँ खेलाडीहरुमा मिडफिल्डरहरु आयुष घलान, सुरज ज्यु ठकुरी र कमल थापाले डेब्यु गर्न बाँकी छ । यस्तै गोलकिपर विशाल सुनार पनि पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् । त्यसबाहेक यसअघि गत नोभेम्बरमा बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि टिममा परेका गोलकिपर दिप कार्कीले पनि डेब्यु गर्न बाँकी छ ।