सय मुलुकलाई फाइजरको ५० करोड डोज कोरोना खोप वितरण गर्दै अमेरिका

२७ जेठ, काठमाडौं । अमेरिकाले फाइजर-बायोएनटेकले विकास गरेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको ५० करोड डोज खोप विश्वका एक सय मुलुकमा वितरण गर्ने भएको छ ।

अमेरिकाले सय मुलुकमा ५० करोड डोज खोप वितरणको लागि फाइजरसँग सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त योजना घोषणा गर्न सक्ने अपेक्षा छ । अमेरिकाको यो योजनाअनुसारको २० करोड डोज खोप यसै वर्ष वितरण गरिनेछ भने बाँकी ३० करोड डोज खोप अर्को वर्षको सुरुआती ६ महिनाभित्र वितरण हुनेछ ।

समाचारमा उल्लेख गरिएअनुसार यी खोप विश्वभर समानरुपमा खोप वितरणको लागि अघि सारिएको कोभ्याक्स कार्यक्रममार्फत निम्न तथा कम आय आएका मुलुकमा जानेछ । साथै अफ्रिकन युनियनलाई पनि केही खोप प्रदान गरिनेछ ।

अमेरिकी राष्ट्रपति बाइडन विश्वभर अमेरिकाको प्रभाव पुनः फर्काउने रणनीतिमा अघि बढिरहेका छन् । अमेरिकाले वितरण गर्न लागेको खोप पनि सोही रणनीतिको एक हिस्सा हो । अमेरिकाको योजनाबारे फाइजरले भने कुनै प्रतिक्रिया दिएको छैन ।

एजेन्सीहरुको सहयोगमा