म्याग्दी खोलामा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी साधन प्रहरी नियन्त्रणमा

२७ जेठ, म्याग्दी । गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित म्याग्दी खोलामा नदीजन्य पदार्थ उत्खनन्मा संलग्न ३ ट्याक्टर र एक स्काभेटर जिप्रका म्याग्दीले नियन्त्रणमा लिएको छ । बेनी नगरपालिका–६ चुत्रेनी खोलामा गैरकानुनी रुपमा प्राकृतिक स्रोतसाधन बालुवा, ढुंगा अन्य नदीजन्य दोहनमा प्रयोग गरिएको ध १ त ५८२, ग १ त ५४४८ र ध १त ५३२८ नम्बरको ट्याक्टर र बा १क ६४०३ नम्बरको स्काभेटरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । म्याग्दी र कालिगण्डकी नदीमा प्रवेश गरी नदीजन्य दोहनको नियन्त्रणमा क्रियाशील रहेको अवस्थामा विषेश सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समितिमा पठाएको जानकारी प्रहरी निरिक्षक एवम् सूचना अधिकृत विरेन्द्रराज गुरूङले बताएका छन् । कोरोना निषेधाज्ञाको अवसर छोपेर नदी दोहन संलग्नलाई निगरानी गर्न प्रहरीले टोली नै परिचालन गरेको छ । म्याग्दी र कालिगण्डी नदीमा हेभी इक्युमेन्टको प्रयोग गरी भइरहेको दोहन नियन्त्रणलाई नियमित कार्यतालिका तथा अनुगमनलाई समेत थप प्राथमिकता दिइएको छ।

नदीजन्य पदार्थ उत्खनन गरी नियम विपरीत कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताउँदै सहयोगका लागि सरोकारवाला निकायलाई समेत प्रहरीले अनुरोध गरेको छ। म्याग्दीका स्थानीय तहले नदीमा मेसिनको प्रयोग गरी उत्खनन् गर्ने दिएपनि नदीजन्य पदार्थको उत्खनन्मा मेसिनको प्रयोग गर्न पाइदैन् । म्याग्दीका स्थानीय तहले बनाएको प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन (आईईई) मा नदीजन्य सामग्री उत्खननका लागि हात र हाते औजार प्रयोग गर्ने उल्लेख भएपनि राजनीतिक पहुँचका कारण तटिय क्षेत्रको बस्ती नै जोखिममा पर्ने गरी नदी दोहन रोकिएको छैन्। बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा दलिय पहुँच र प्रभावमा नदीमा दोहन हुने गरेको छ ।

पहिला पनि प्रहरीले कालिगण्डकी र म्याग्दी नदीमा स्थानीय तहको अनुमतिमा उत्खनन्मा हस्तक्षेप गरी नियन्त्रणमा लिएको थियो। जिल्लामा स्थानीय तहले अनुमति दिएको र टेन्डर प्रक्रियाबाट समेत उत्खनन् गरिरहेको अवस्थामा समेत प्रचलित कानून विपरित भएकाले सुरक्षा समितिले नियन्त्रणका लागि पठाउने गरेको छ । त्यस्तै राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडक सहित राहुघाट जलविद्युत आयोजना, बेनी दरबाङ सडकखण्डको जिम्मा लिएका ठेकेदारले समेत विभिन्न पहुँचको प्रयोग गरी नदी दोहन गरिरहेको पाइएको छ । यस बिषयमा सम्बन्धित निकाय किन कानमा तेल हालेर सुतिरहेको छ । यस सवालमा समेत जनचासोको बिषयमा बनेको छ ।