जसले ३० सांसदको हस्ताक्षर लिएर आउँछ, उसैलाई सहयोग गर्छु

खेलकुद मन्त्री, राजीव गुरुङ (दीपक मनाङे)

२७ जेठ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज गण्डकी प्रदेशसभामा विश्वासको मत
लिदैछन् । युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले सत्ता पक्षको साथ छाडेको कुरा चलेको छ। यसले गर्दा नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ ।

१५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदानको तयारी हुँदै गर्दा सम्पर्कविहीन भएको भोलिपल्ट मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री बनाएका थिए । संविधानको धारा १६८(३) अनुसार फेरि मुख्यमन्त्री नियुक्त भएपछि पनि मुख्यमन्त्री गुरुङले सबै मन्त्रीलाई दोहोर्‍याए । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले उनले आज विहीबार २७ गते प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।

उनीसँग बहुमत देखिएको छैन । तर राष्ट्रिय जनमोर्चाले पदमुक्त गरेका कृष्ण थापालाई सर्वोच्च अदालतले पुनर्वहाली गरेपछि विपक्षीको पनि बहुमत नपुग्ने देखिएको थियो । त्यसले विश्वासको मत नपाएपछि अर्को सरकार नबन्ने भएकाले प्रदेशसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गर्ने गुरुङको तयारी थियो ।

तर विश्वासको मत दिने अघिल्लो साँझ बुधबार बोलाइएको मन्त्रिपरिषद् बैठकमा मन्त्री मनाङ अनुस्थित भए । उनी विपक्षी गठबन्धनतिर लागेको पाइएको छ । मुख्यमन्त्री गुरुङलाई साथ दिँदा प्रदेशसभा विघटन हुनसक्ने भएकाले विघटन रोक्न विपक्षी गठबन्धनको पक्षमा उभिएको मन्त्री मनाङेले बताए ।

उनका अनुसार सरकार जोगाउनकै लागि मुख्यमन्त्रीले मलाई मन्त्री बनाएको, तर सरकार ढल्नेमात्रै होइन, प्रदेशसभा नै विघटन हुने अवस्था आएपछि आफूले साथ छोड्ने निर्णय गरेको मनाङेले सुनाए । ‘सरकार जोगिन्छ, संसद विघटन हुन्न भनेर मलाई मन्त्री बनाएका हुन्, ‘मलाई साथ देउ विघटन गरेर निर्वाचन गरम् भन्छन् । मुस्ताङका दुई सांसद र राजीव पहारी आएका थिए । मैले साथ दिन सक्दिन भनें ।’

जसले सांसद संख्या ३१ पुर्‍याएर आउँछ, उसलाई साथ दिने आफूले बताएको खेलकुद मन्त्री मनाङेले सुनाए । ‘साँझ क्याबिनेट मिटिङ पनि थियो । म आउँदिन, अब मलाई मतलब छैन भनेर गइनँ,’ मनाङले भने, ‘प्रदेशसभा विघटनको कुरा लिएर आउँछ भने म मरे पनि जान्नँ भनेर निस्किएको हुँ ।’

कुराकानीका क्रममा उनले संसद जोगाउन चाहिने ३१ मत पुर्‍याउने जिम्मा आफ्नो भएको समेत दाबी गरे । ‘जसले ३० सांसदको हस्ताक्षर लिएर आउँछ, उसैलाई सहयोग गर्छु तर संसद विघटनको पक्षमा जान्नँ,’ मनाङेले भने, ‘संसद जोगियो भने जो पनि मन्त्री हुन सक्छ, तर संसदै नरहे के मन्त्री बन्नू ?