मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकाबासीको धारामा एक महिना नआउने

२० जेठ, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी झन्डै एक महिना काठमाडौंमा नआउने भएको छ ।
सुरूङ परीक्षणका लागि पानी बन्द गर्नुपर्ने अवस्था आएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

‘हामीले परीक्षणकै क्रममा पानी पठाइरहेका थियौं, तीन महिनाको परीक्षण अवधि समाप्त भएको छ,’ आयोजनाका डिभिजनल इञ्जिनियर राजेन्द्र पन्तले सेतोपाटीसँग भने ।

सुरूमा पानी परीक्षण गरिएको फागुन १० गतेबाट हो। असार १ गतेदेखि सुरूङ खाली गर्न सुरू गरिने पन्तले बताए ।

उनकाअनुसार अब ईञ्जिनियरहरूको टोलीले सुरूङमा केही त्रुटि छन् छैनन् भनी हेर्नेछन्। पानी खाली गराउन पन्ध्र दिन लाग्नेछ ।
र, निरीक्षण गर्न १० दिन लाग्ने छ । ‘यो अवधिमा पानी पठाउने अवस्था रहन्न,’ पन्तले भने ।

उनका अनुसार ठेक्का सम्झौता समापन पनि गर्नुपर्ने बेला भएको छ । त्यसकारण एक पटक सुरूङ परीक्षण जरुरी भएको छ ।
ठेक्का सम्झौता अनुसार सुरूङमा समस्या रहेको देखिए निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने प्रावधान छ ।

‘प्राविधिक रुपमा परीक्षणको कार्यविधि छ, त्यही कार्यविधिअनुसार एकपटक परीक्षण गर्न लागेका हौं,’ पन्तले भने ।

अहिले मेलम्ची खानेपानी आयोजनाबाट १७ करोड लिटर काठमाडौं उपत्यकामा आइरहेको छ। त्यो पानी नआउँदा अभाव रहने भएको छ ।

यो अभाव टार्ने उपाय भनेको पुरानो वितरण प्रणालीबाट आउने पानी हो। त्यसले अभावलाई केही हदसम्म मात्र टार्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।