१७ जेठ, काठमाडौं । हिजोसम्म निकै राम्रो बढेको होइड्रोपावर कम्पनीहरुको सेयर मूल्य आज भने घटेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ४५ अंक भन्दा धेरै घटेको छ । समग्रमा बजार हाइड्रोपावर समूहको सबइन्डेक्स ४ दशमलव ३१ प्रतिशत अर्थात १२९ दशमलव ९३ अंकले घटेको छ ।
यो नै आज सबैभन्दा धेरै घट्ने समूह हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको कार्यान्वयनका लागि दिएको निर्देशन पछि हाइड्रोपावरको सेयर मूल्यमा आकर्षण देखिएको थियो ।
हिजोसम्म पनि निकै राम्रो बढिरहेको यो समूहको सेयर मूल्य आज भने धेरै घटेको छ ।
आज धेरै गुमाउने कम्पनीहरुको शिर्ष १० मा सबै जलविद्युत् कम्पनीहरु नै देखिएका छन् । यद्यपि, राधी जलविद्युत् कम्पनी भने अपवाद देखिएको छ । यसको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । आज नेप्से परिसूचक ४५ दशमलव २५ अंकले घटेर २ हजार ७ सय ८२ दशमलव ६८ अंकमा झरेको छ ।
सेयर कारोबार रकम पनि हिजोको तुलनामा कम देखिएको छ । आज १३ अर्ब ९० करोड ९१ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । हिजो १७ अर्ब माथि कारोबार भएर कारोबार रकमा नयाँ रेकर्ड कायम भएको थियो ।