३ सन्तान जन्माउन पाउने अब चीनमा

१७ जेठ, काठमाडौं । चीनले आफ्नो मुलुकमा बस्ने दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने अधिकार दिने निर्णय गरेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सरकारले दुई सन्तान नीतिमा परिवर्तन गर्दै तीन सन्तानको नीति घोषणा गरेको हो । चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो मिटिङमा राष्ट्रपति सि जिनपिङले उक्त नीतिलाई स्वीकृति दिएका हुन् ।

चीनको जनसंख्या वृद्धिदर दशकयताकै सबैभन्दा कम रहेको तथ्यांक सार्वजनिक भएको केही समयमा नै चीनले यस्तो घोषणा गरेको हो । जनसंख्या वृद्धिदर कम देखिएसँगै चीनलाई दुई सन्तानको नीति हटाउन दबाब बढेको हो ।

यसअघि सन् २०१६ मा चीनले विवादित एक सन्तान नीति अन्त्य गर्दै एक दम्पत्तीले दुई सन्तान जन्माउन पाउने नीति ल्याएको थियो । यद्यपि यो नीतिले पनि चीनमा जन्मदर बढाउन भने सहयोग गरेन । उक्त नीतिको दुई वर्ष जन्मदरमा केही वृद्धि देखिए पनि त्यसमा पुनः गिरावट देखिएको हो ।

एजेन्सीको सहयोगमा